राक्सिराङ–गाँजा बरामद गर्न गएको प्रहरीसहितको टोलीले बियर, कोल्ड ड्रिंक्स, नगद र कुखुरा समेत जबरजस्ती उठाउन थालेपछि गाउँलेले प्रतिकार गरेको छ ।

प्रहरीले भिजिलान्तेहरु प्रयोग गरी गाउँ जाँदा यस्तै दुखद घटनाहरु पटक पटक भइरहेको छ । भिजिलान्ते प्रयोग गरेर राक्सिराङ गाउँपालिका १ मा पुगेको प्रहरी र गाउँलेबीच झडप भएको हो । झडपका क्रममा दुईपटक हवाई फायर भएको छ भने तीनजना घाइते भएको बताइन्छ ।

स्थानीबासिन्दाका अनुसार शनिबार राति १० बजेतिर प्रहरीको बा १ ग २०९० नं को भ्यानमा केही प्रहरी र तीनजना भिजिलान्ते गाउँ छिरेका थिए । प्रहरीले प्रयोग गरेका भिजिलान्तेहरुले प्रहरीकै सहयोगमा केही गाँजा बरामद गरेसँगै स्थानीय ब्यक्तिको घरबाट नगद रकम, लोकल कुखुरा, पसलबाट बियर, कोल्ड ड्रिंक्स र चाउचाउ बिस्कुट समेत झिकेपछि गाउँलेले प्रतिकार गरेका थिए । ‘प्रहरीले कुखुरा र बियर त लैजाँदैन भनेर हामीले जिल्ला प्रहरी कार्यालय हेटौँडा, इलाका प्रहरी कार्यालय मनहरी, इलाका प्रहरी कार्यालय नेवारपानी र राक्सिराङ प्रहरी चौकीमा राति नै बुझ्यौँ’, एक स्थानीयबासिन्दाले भन्नुभयो–‘कुनै पनि प्रहरी कार्यालयले प्रहरी गस्तीमा नगएको बताएपछि लुटेराहरु भन्ठानेर हामीले प्रतिकार ग¥यौँ ।’

गाउँलेका तर्फबाट प्रतिकार हुँदा प्रहरीले दुई राउण्ड हवाई फायर समेत भएको स्थानीयले बताएका छन् । सो क्रममा प्रहरीले गाउँलेसँग आफूहरुबाट गल्ती भएको भन्दै माफी मागी भिजिलान्तेहरुलाई गाडीबाट भगाएका थिए । भगाएका भिजिलान्तेहरुलाई खोजी खोजी गाउँलेहरुले कुटपिट गरेको बताइएको छ । कुटपिटबाट दुईजना भिजिलान्ते र एक प्रहरी घाइते भएका छन् ।

कुटपिटपछि घाइते भएकाहरुलाई प्रहरीकै गाडीमा राखी राति नै उपचारका लागि हेटौँडा तर्फ लगिएको थियो । घटनापछि थप बलसहित इलाका प्रहरी कार्यालय मनहरीबाट पुगेको प्रहरी टोलीले मिलापत्र गर्न भनेर राक्सिराङ गाउँपालिका वडा न १ का वडाध्यक्ष कान्छाराम रुम्बालाई बोलाएर नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आरोप लगाउनु भएको छ ।

गाउँमा प्रहरीले नै रातभरि आतंक मच्चाएर मिलापत्र गर्न भन्दै बोलाएर वडाध्यक्षलाई नियन्त्रणमा लिएको घटना खेदजनक भएको राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो । घटनापछि अध्यक्ष मल्ल प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललाई भेट्न हेटौँडा पुग्नु भएको छ । घटनामा प्रहरीको दोष देखिए आवश्यक कारबाही गरिने भन्दै घटनाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार राति प्रहरी नै बन्धक भएको खबरपछि आफ्नो टोली पुगेर उद्धार गरी वडाध्यक्ष कान्छाराम रुम्बा र बेवारिस भेटिएको १ बोरा गाँजा र भाङ बरामद गरी ल्याएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठले बताउनुभयो ।

मकवानपुरमा हरेक बर्ष प्रहरी र गाउँलेहरु गाँजाको बिषयमा झडप हुनेगरेको छ । खासगरी गाँजाकै कारोबारमा संलग्नलाई प्रहरीले संरक्षण गरी सुराकी गर्न लगाउने र भिजिलान्तेको रुपमा प्रयोग गर्ने घटनाका कारण प्रहरीको बदनाम हुँदै गएको छ । गत बर्ष गाँजा बरामद गर्न कैलाश गाउँपालिका वडा नं ८ मा मा पुगेको प्रहरी र गाउँलेबीच झडप हुँदा प्रहरी सहायक निरीक्षकको हात भाचिएको थियो भने रातभर प्रहरीहरु बन्धक बनेका थिए ।

गाँजाको सुराकी गरेबापत गाँजा नै भाग लिने गरी केही मान्छेहरु सुराकी गर्न राजी हुँदै आउने गरेको पाइएको छ । तर, आफू आएपछि त्यस्ता भिजिलान्तेहरु सम्पर्कमा आउन छाडेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रेष्ठ बताउनुहुन्छ । ‘गाँजा नै भाग दिएर भिजिलान्तेहरुलाई काम लाउनु अबैधानिक काम हो’, प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो–‘यस्तो काममा मैले सुरुदेखि नै कसैलाई प्रयोग गरेको छैन ।’

बिगतमा केही प्रहरी अधिकृतहरुले बरामद भएको ५० प्रतिशत गाँजा नै सुराकी गरेबापत भिजिलान्तेहरुलाई दिने गरेको घटनाहरु सार्बजनिक हुन थालेका छन् । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा हरेक बर्ष व्यवसायिक गाँजा खेती र अफिम खेती हुनेगरेको छ । प्रहरीले हरेक बर्ष गाँजा फँडानी गरेपनि निमिट्यान्न हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here