मनहरी–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको आम हड्ताल सफल पार्न भन्दै पश्चिम मकवानपुरको मनहरीमा बुधवार साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ ।

दोस्रो जनआन्दोलनपछि मनहरीमा मसाल प्रदर्शन गरिएको पहिलो घटना हो । १५ बर्षपछि पुनः राजनीतिक प्रतिरोधका निम्ति निस्किएको मसाल जुलुसले मनहरी बजार परिक्रमा गर्दै इलाका प्रहरी कार्यालय अगाडि कोण सभामा परिणत भएको थियो ।

माथिल्लो बजार प्याङ्चेबाट निस्किएको मसाल जुलुस मेनरोड हुँदै पुल्चोक पुगी इलाका प्रहरी कार्यालय अगाडि आएर समापन भएको हो ।

समापनअघि कोण सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बागमती प्रदेश कमिटी सदस्य तथा सांसद ओमबहादुर ग्लान (प्रदीप) ले एकपछि अर्काे अलोकतान्त्रिक र गैर संवैधानिक कदम प्रधानमन्त्रीले जारी राखे उनलाई सडकबाटै घिसार्ने चेतावनी दिनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संस्थापन पक्षले बिहिबार आयोजना गरेको आम हड्ताल सफल पार्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य एबम् नेकपा जिल्ला सचिवालय सदस्य गोविन्दराम चेपाङले सूर्य चुनाव चिन्ह आफूहरुले प्राप्त गर्ने भन्दै संस्थापन पक्षले आयोजना गरेको आम हड्ताल सफल पारी व्यवसाय, शैक्षिक संस्था, कलकारखाना बन्द गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बागमती प्रदेश कमिटी सदस्य बीरबहादुर घलान ज्वाला, पुराना नेता रामहरि सुवेदी, कृष्णबहादुर चेपाङ, जिल्ला सचिवालय सदस्य बनस्तम थिङ, जिल्ला सदस्य गौतम लामा, बीरबहादुर घलान (आनन्द) लगायत गाउँ कमिटीका नेताहरु, युवा संघका कार्यकर्ता, अनेरास्ववियु र अनेमसंघका कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here