मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला बिष्ट गाउँसभामा सहभागी हुँदै ।

मनहरी–मंसीर २९ गते गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले स्वेच्छाले दिनु भएको राजीनामा आफूले स्वीकृत गरिदिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले सञ्चार माध्यमसमक्ष भन्नु भएको छ ।

उहाँका अनुसार पुस १७ गते शुक्रबार राजीनामा स्वीकृत भएको हो । शुक्रबार स्वीकृत भएको राजीनामाबारे आइतबार मात्रै समाचार प्रकाशन भएको थियो । आइतबार कार्यालय समयमा उपाध्यक्ष मनिला बिष्टले भने आफूले दिँदै नदिएको राजीनामा कसरी स्वीकृत हुन्छ भन्ने प्रश्न गर्नु भएको छ । उहाँले फेसबुकमा गाउँपालिका अध्यक्षका छोरा विकास उप्रेती र कर्मचारी डिल्लीराम रेग्मीले शुक्रबार साँझ राजीनामा स्वीकृत भएको पत्र दर्ता गराएको सुनेको सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
अध्यक्ष उप्रेती र उपाध्यक्ष बिष्टका यी दुईखाले फरक फरक भनाईले अन्यौलता सिर्जना गरेको छ ।

बिगतको हल्ला के हो ?
पूर्व नेकपा एमालेबाट निर्बाचित अध्यक्ष उप्रेती र उपाध्यक्ष बिष्ट तथा कर्मचारीहरुबीच समन्वय अभाव भएकाले पटक पटक विवाद हुने गरेको र त्यसै क्रममा उपाध्यक्षले राजीनामा दिएका समाचारहरु सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए । यो घटना गत मंसीर २९ गतेको हो । केही दिन यही कुराले स्थानीय सञ्चारमाध्यमहरुमा चर्चा पायो । तर, त्यतिखेरै अध्यक्ष उप्रेती र उपाध्यक्ष बिष्टले यो हुँदै नभएको कुरा भएकाले भ्रममा नपर्न भन्दै मिडियाहरुलाई प्रतिक्रिया दिएका थिए । अध्यक्ष उप्रेतीले भन्नु भएको थियो–‘राजीनामा दिएको हो भने बुझ्ने मै हूँ, मैले बुझ्न पाएको छैन, दिने व्यक्तिले पनि मैले दिएको छैन भन्नु भएको छ, यो अनावश्यक हल्ला कसरी चल्यो ?’

गाउँपालिकाको संस्थागत धारणा
उपाध्यक्ष बिष्टको राजीनामासहित अध्यक्ष र कर्मचारीहरुसँग विवाद बढेको भन्ने समाचारहरु आएपछि पुस १ गते कार्यपालिका बैठक बस्यो । बैठकको माइन्युटमा लेखिएको छ–यस गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले आफ्नो पदबाट राजीनामा दिएको भन्ने बिषयसँग जोडेर भ्रामक र कपोलकल्पित बिषयहरु समेटेर फेसबुक, पत्रपत्रिका, अनलाइन सञ्चार माध्यमहरुमा आएका खबरको बारेमा कार्यपालिका बैठकमा गम्भिर ध्यानाकर्षण र छलफल भयो । पुष्टयाइँ बिना सत्य तथ्य नबुझी अनावश्यक भ्रमपूर्ण, कपोलकल्पित आरोपका समाचार आउनु दुखद् र भत्र्सनायोग्य र खेदपूर्ण भएको । मिडियाकर्मीहरुले समाचार प्रकाशन÷प्रसारण गर्दा आधिकारिक रुपमा बुझी प्रकाश÷प्रसारण गर्नु हुन बैठक हार्दिक आग्रह गर्दछ ।’
उल्लेखित निर्णयले पनि मंसीर २९ गते दिइएको भनिएको राजीनामासम्बन्धी हल्लालाई खारेज गरेको छ । त्यससँगै गाउँपालिकाले मंसीर २ गते निकालेको विज्ञप्तीले पनि कार्यपालिकाको बैठकको निर्णयलाई सार्बजनिक गरी भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरिएको छ ।

कार्यपालिकाको निर्णय ।
गाउँपालिकाको प्रकाशन गरेको विज्ञप्ती ।

राजनीतिक स्वार्थको असर
अहिले राजीनामा स्वीकृत भएको भनिएको बिषय अब अध्यक्ष एकराज उप्रेती वा उपाध्यक्ष मनिला बिष्टको मात्रै रहेन । यो नेपाल कम्युनिष्ट पार्टीको फुटसँग जोडिएर अघि बढ्यो । फुटसँगै ओली पक्षधरतातिर लाग्नु भएको उप्रेतीले २० दिनपछि राजीनामा स्वीकृत भएको खबर सार्बजनिक हुनुलाई फुटकै असरको रुपमा हेरिएको छ । उपाध्यक्ष पार्टी फुटपछि कुनै पनि गुटमा खुल्नु भएको छैन । उहाँ पूर्व एमाले पक्षधरहरुकै सल्लाहमा आफू रहने बताउँदै आइरहनु भएको छ भने अध्यक्ष उप्रेती मनहरीमा आयोजित पूर्व एमालेको भेलामा अतिथि, हेटौँडामा आयोजित मोर्चा संगठनहरुको भेलामा अतिथि हुनुहुन्थ्यो ।

अध्यक्षमाथि दबाब
गाउँपालिका अध्यक्ष उप्रेतीमाथि यतिखेर उपाध्यक्षको राजीनामा आएको हो कि होइन ? भनेर कार्यपालिका सदस्यहरु (खासगरी वडाध्यक्षहरु) ले दबाब दिएको बताइन्छ । वडाध्यक्षहरु पनि उपाध्यक्षसँग रुष्ट हुनुहुन्छ । अध्यक्षले वडाध्यक्षहरुको दबाब थेग्न नसकिएको बताउने गर्नु भएको छ । त्यसैगरी राजीनामाको बिषयबारे प्रमुख बिपक्षी दल नेपाली काँग्रेसले समेत ध्यानाकर्षण गरी आन्दोलनको चेतनावनी दिएको बताइन्छ । यसरी अध्यक्ष चौतर्फी चेपुवामा परेको एउटा दृष्टान्त छ भने उपाध्यक्षलाई अर्काे खेमाको आरोप लगाएर ओली पक्षधर नेताहरुले ‘राजीनामा स्वीकृति’ का निम्ति दबाब दिएको बुझ्न सकिन्छ । यद्यपि उपाध्यक्ष कुनै पनि गुटमा खुलिसकेको अबस्था छैन ।

गाउँपालिकाको बेथिति
यी घटनाक्रमले गाउँपालिकाभित्र बेथिति प्रस्ट्याउँछ भने अध्यक्ष र उपाध्यक्षको विवादको फाइदा कर्मचारीहरुले उठाइरहेको देखिन्छ । जस्तो कि, गाउँपालिकाका कर्मचारीहरुले तेहोरो भत्ता लिने गरेको, १० बजे कार्यालय नपुग्ने गरेको, पूरा दिन काम नगरी हतार हतार फर्कने गरेकोजस्ता गुनासाहरु यसअघि नै सार्बजनिक भइसकेका छन् । हेटौँडा घर भएका अधिकाँश कर्मचारीहरु नेताहरुका फोर्स लगाएर नजिकै रहेको मनहरी गाउँपालिकामा जागीरका लागि आउने गरेका छन् । कर्मचारी अभावकै कारण खासगरी पशु, कृषि शाखाको प्रगतिमा क्षेत्रको विकासमा उल्लेख्य सुधार हुन सकेको छैन । गत आर्थिक बर्षमा कृषिको १ करोड बजेट फ्रिज भएको थियो ।

अब के होला ?
यो घटनाले मनहरी गाउँपालिकामा रमिता नै देखिन्छ । उपाध्यक्षले राजीनामाको कुरा स्वीकार गर्नु भएको छैन भने कार्यपालिकाको निर्णय र बिज्ञप्तीले ती भ्रमहरुलाई खारेज गरिसकेको कुरामा अडिग रहने सम्भावना देखिन्छ । उहाँले आफूबारे अनेक समाचार र हल्लाहरु आएपनि नियमित रुपमा गाउँपालिकामै रहेर काम गरिरहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ । कार्यपालिकाको निर्णय र विज्ञप्तीसहित उहाँले कानूनी लडाइँ लड्न सक्ने अनुमान गर्न सकिन्छ ।

पार्टी कार्यकर्ताको भावना बुझ्न सकेनन् जनप्रतिनिधिले
पूर्व एमालेतर्फबाट निर्बाचित अध्यक्ष र उपाध्यक्षलाई सरकार चलाउन, जनताको मनोदशाबाट उतार्नका लागि निर्वाचित गरिएको हो । पार्टीकै टिकटबाट र सक्रियताबाट निर्बाचन जितेका अध्यक्ष र उपाध्यक्षहरुको यति धेरै विवाद देखिए पनि बसेर सल्टाउनुपर्नेमा दुबै जना आफ्नै पाराले चल्नाले परिस्थिति दुर्घटनातिर गएको कार्यकर्ताहरु बताउँछन् । ‘न त राजीनामा दिनेले पार्टीमा छलफल गरे, न त स्वीकृत गरँे भन्नेले पार्टीको आधिकारिक कमिटीमा छलफल गरे’, पूर्व एमालेका युवाहरुले दुबैसँग गुनासो गरेका छन् । पार्टी कमिटीको बैठक राखेर कुनै पनि निर्देशन वा सल्लाह सुझाव दिन नसक्नुले मनहरी गाउँपालिकाको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष रामप्रसाद कालाखेती र सचिव हेमलाल उप्रेती पनि यो मुद्दामा दोषी भएको नेकपाका कार्यकर्ताहरुले बिश्लेषण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here