मनहरी–राक्सिराङ गाउँपालिकामा डफ्फाका डफ्फा प्रहरी गाउँ पस्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आपत्ति जनाउनु भएको छ ।

उहाँले विज्ञप्ती प्रकाशन गरी मल्लले गाउँपालिकाभित्र कोरोना संक्रमण फैलन नदिनका लागि उच्च सतर्कता अपनाएर काम अघि बढाइएको बेला शसस्त्र र नेपाल प्रहरीका डफ्फा गाउँ पसेर जोखिम बढाएको बताउनु भएको छ । “जिल्ला बाहिरबाट अध्यापनका लागि आउने शिक्षकहरुको तत्कालको पिसिआर रिपोर्ट र कम्तीमा ७ दिनको होम क्वारिन्टिनको व्यवस्थासहित स्वास्थ्य सुरक्षाको यथेष्ट पालना गर्दै हाल विद्यालय सञ्चालन गरिरहेको छ”, विज्ञप्तीमा भनिएको छ–“सभा, गोष्ठी र विकास निर्माणको कार्य गर्दा कम्तीमा २ मिटरको भौतिक दुरी कायम राखेर कार्यान्वयन तथा सञ्चालन हुँदै आइरहेको छ ।”

तर, स्थानीय तहसँग समन्वय नगरी प्रहरीका डफ्फा गाउँ पसेर स्वास्थ्य सुरक्षा लगायत सबै साबधानीका नियम तोडेको अध्यक्ष मल्लले बताउनुभयो । नेपालको संविधानको धारा २३२ ले संघ, प्रदेश र स्थानीय तहको समन्वय हुने गरी कार्य सञ्चालन गर्ने व्यवस्था गरेपनि स्थानीय तहसँग संघीय सरकारको तर्फबाट परिचालन भएको प्रहरीले कुनै समन्वय नगरेको उहाँको आरोप छ । अध्यक्ष मल्ले गाउँ र वडाहरुमा प्रहरी पसेका कारण आतंकित वातावरण बनिरहेकाले कोरोनाको संक्रमण बढेमा प्रहरी जिम्मेवार हुनुपर्ने बताउनु भएको छ ।

केही दिनअघि प्रहरी टोली गाँजा फँडानीका लागि राक्सिराङ गाउँपालिकाका विभिन्न वडाहरुमा पुगेपछि गाउँपालिकाले यस्तो विज्ञप्ती निकालेको हो । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा गाँजाको व्यवसायिक खेती हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here