उद्घाटन समारोहमा मन्तब्य राख्दै सांसद ग्लान ।

मनहरी– बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान (प्रदीप) ले तीनैवटा स्थानीय सरकारले नियमित रुपमा जनताका आधारभूत सेवामा पहुँच पु¥याउने काम गरिरहेको बताउनु भएको छ ।

मनहरी गाउँपालिका ६ बालुवाभन्ज्याङमा स्थापना भएको खोप केन्द्र तथा गाउँघर क्लिनिकको उद्घाटन गर्दै उहाँले नेपाल कम्युनिष्ट पार्टीले प्रतिबद्धता गरेका बाचाहरु पूरा हुँदै गएको बताउनुभयो । ‘हामीले चुनाबमा भनेका कुराहरु यही गाउँमै पनि कार्यान्वयन भइरहेको छ’, उहाँले भन्नुभयो–‘रुपाचुरीदेखि मनहरीसम्म जोड्ने सडक, विद्युतीकरण, स्वास्थ्य सेवा बिस्तार लगायत सबै काम स्थानीय, प्रदेश र संघीय सरकारले गरिरहेको छ ।’

बेला मौकामा गाउँ छिर्ने र जनतालाई भड्काउने प्रबृत्तिका मानिसहरुका कुरा सुनेर अल्मलिनुभन्दा पनि देखिने गरी भएका कामको लागि सरकारलाई धन्यवाद दिनुपर्नेमा उहाँले जोड दिनुभयो । बजेट बाँड्ने निकायमै नरहेका मानिसहरु बाटो, पुलपुलेसा, विद्युतीकरण गर्छु भन्दै गाउँमा आएर जनतालाई भड्काउन खोजेको भन्दै त्यसबाट सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले स्वास्थ्य, खानेपानी, सडक, शिक्षा लगायतको सुधार भइरहेको बताउनुभयो । स्थानीय सरकार आएपछि बर्षायामका केहीदिनबाहेक अन्य दिन निरन्तर रुपाचुरी क्षेत्रमा सडक सुचारु गरिएको, विद्युतीकरणको काम तीब्र रुपमा भइरहेको उहाँको भनाई थियो । विद्युतीकरणका बाँकी कामहरु पनि अब छ्टिटै सम्पन्न भएर रुपाचुरी, बालुभन्ज्याङ क्षेत्रमा बत्ती बल्ने उहाँले जानकारी दिनुभयो ।

उपाध्यक्ष मनिला बिष्टले स्थानीय तहको चुनाव भएर आइसकेपछि गाउँको मुहार फेरिँदै गएको बताउँदै स्वास्थ्य सेवाको बिस्तार र महिला तथा बालबालिकाले पाउने सेवामा प्रभावकारी कामहरु भइरहेको बताउनुभयो ।

६ नं वडाध्यक्ष गोपीलाल मुक्तानको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँपालिकाले लगानी गरी निर्माण गरेको २ कोठ भवनमा खोप सेवा सुचारु गरी उद्घाटन गरिएको थियो । खोप केन्द्र र गाउँघर क्लिनिक स्थापना भएसँगै स्वास्थ्यकर्मी उपलब्ध गराएर गाउँपालिकाले यस क्षेत्रका मानिसहरुलाई सिटामोल किन्न मनहरी बजार जानुपर्ने बाध्यताबाट मुक्ति दिनुपर्ने स्थानीय युवा अमृत थिङले बताउनुभयो । ५० रुपियाँको औषधी किन्न मनहरी बजार वा चितवन जानुपर्ने बाध्यता हटाउने गरी गाउँपालिकाले जनशक्ति र औषधीको व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा स्थानीय समाजसेवीहरु, वन समूहका प्रतिनिधि, शिक्षकहरु, जनप्रतिनिधिहरु, नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here