मनहरी–मनहरी गाउँपालिकामा सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुको नयाँ नियुक्ति, सरुवा, पारस्पारिक सरुवा जस्ता बिषयलाईलाई व्यवस्थित गर्न कार्यविधि निर्माण भएको छ ।

विद्यालय व्यवस्थापन समितिले आफूखुसी सरुवा सहमति लगायतका क्रियाकलापहरु यसअघि गर्दै आइरहेकामा अब शिक्षा समितिको प्रत्यक्ष निगरानीमा मात्रै सरुवा सहमति तथा नयाँ नियुक्तिका कामहरु हुनेछन् ।

विद्यालय व्यवस्थापन समितिलाई समेत जिम्मेवार र संस्थागत बनाउन र बिगतमा हुने गरेका गलत क्रियाकलापहरु रोक्नका लागि गाउँपालिकाले कार्यविधि निर्माण गरेको हो । गाउँ शिक्षा समितिको बैठकमा पेस भएको कार्यविधि संशोधनसहित कार्यपालिका बैठकमा पठाउने निर्णय गरिएको छ । गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले कार्यविधिलाई अक्षरसः पालना गरी शिक्षकहरुको नियुक्ति, परिक्षा, सरुवा लगायत बिषयहरुलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।

बैठकले बैकल्पिक सिकाई सहजीकरणलाई प्रभावकारी बनाउने, शिक्षकहरुलाई अनिबार्य विद्यालयमा उपस्थित गराइ शैक्षिक क्रियाकलापमा लगाइने निर्णय गरेको छ । आवश्यक स्वास्थ्य तथा सरसफाई सम्बन्धी मापदण्ड पूरा गरेर बैकल्पिक सिकाइ सहजीकरण निर्देशिका बमोजिम शैक्षिक क्रियाकलाप अघि बढाइने शिक्षा शाखा संयोजक हरिचन्द्र सापकोटाले बताउनुभयो । गाउँ शिक्षा ऐनलाई टेकेर संघीय शिक्षा ऐनको भावनालाई समेत आत्मसात गरी कार्य विधि निर्माण गरिएको हो ।

मनहरीमा ३२ वटा सामुदायिक र ८ वटा निजी विद्यालयहरु रहेका छन् । ती विद्यालयहरुमा १० हजार विद्यार्थी अध्ययनरत छन् भने ३५० भन्दा बढी शिक्षकहरु कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here