म्याजिक भ्यान र अटो नहुँदाको शान्त मनहरी बजार ।

मनहरी–चाडपर्वका बेला अस्तब्यस्त रहने मनहरी बजारलाई व्यवस्थित गरिने भएको छ ।

मनहरी गाउँपालिका ७ नं वडा कार्यालय, इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरीको आइआरटी पोष्ट र मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिसहित सरोकारवालाको आइतबार बसेको बैठकले बजारलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।

बैठकले तीन दिनभित्र मनहरी बजार क्षेत्रको २५ मिटर सडक खण्डमा रहेका सबै भौतिक संरचनाहरु हटाउन व्यवसायीलाई निर्देशन दिने गरी सूचना जारी गर्ने निर्णय गरेको छ । निर्णयानुसार २५ मिटर क्षेत्रमा रहेका रड, पाइप, ड्रम, ठेलागाडाहरु, माछापसलहरु, अब्यवस्थित रुपमा पार्किङ गरिने ट्रेक्टरका ट्रेलरहरु, गाडीहरु हटाउनुपर्नेछ ।

त्यसैगरी कति व्यवसायीले आफ्नो पसललाई आकर्षित गराउनका लागि छानो समेत थपेर संरचना बनाएर सामाग्रीहरुको प्रदर्शन गरिरहेको अबस्था छ । निर्णयानुसार ती सबै संरचना भत्काउनुपर्नेछ । अन्यथा गाउँपालिका, वडा कार्यालय तथा प्रहरीले बल प्रयोग गरी २५ मिटर भित्रका भौतिक सामग्रीहरु जफत गर्ने र कानूनी कारबाही प्रक्रिया अघि बढाइनेछ ।

बैठकको निर्णयानुसार २५ मिटर खण्ड सफाचट् बनाउँदा बजारमा व्यवसाय गरिरहेको ठेला तथा माछापसलहरुलाई इलाका प्रहरी कार्यालय अगाडिको रोटरी माविको व्यवसायिक भवन (एस एण्ड टी राई मार्केट) परिसरमा जानुपर्ने व्यवस्था मिलाइएको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको छ ।

यसैगरी दशैँतिहार र छठका बेला चैनपुररोड अतिक्रमण गरी खाट थपेर मसला, माला तथा खेलौनाका सामान बेच्ने व्यवसायीहरुले यसबर्ष त्यस्तो छुट पाउने छैनन् । बैठकले ६ मिटर सडक अतिक्रमण नगरीकन व्यवसाय गर्न सबै व्यवसायीलाई निर्देशन दिने र अटेर गरे कानूनी कारबाही अघि बढाइने निर्णय गरेको छ । ६ मिटर मिचेर बनेका संरचनाहरु तीनदिनभित्र हटाइसक्नुपर्ने निर्णय भएको हो ।

बैठकले इजाजत पाएका सामानहरुको मात्रै बिक्री बितरण गर्न व्यवसायीलाई आग्रह गरेको छ । चाडपर्वको सिजनमा आफूले बेच्ने अनुमति नपाएका सामानहरुको पनि बिक्री बितरण गरी चैनपुररोडसहित मनहरी बजारमा होटल, किराना, मोबाइल पसल, फेन्सी लगायत सबैखाले व्यवसायीले माला, मसला, झिलिमिली बिजुलीका सामानहरु बेच्दै आइरहेको पाइएको छ । यसबर्ष अब्यवस्थित ढंगले बिक्री बितरण हुने त्यस्ता सामग्रीहरुको व्यापार इजाजत पाएका व्यवसायीले मात्रै गर्न पाइने भएको छ । अन्यथा कानूनी कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय मनहरीले तयारी गरेको छ ।

बैठकले इजाजत नलिई व्यवसाय गरिरहेको व्यवसायीहरुलाई इजाजत प्रक्रियामा जान आह्वान गरेको छ । त्यसैगरी बजारमा अस्तब्यस्त रुपमा रहेका म्याजिक भ्यान, अटो लगायत सबारी साधनलाई रोटरी माविको व्यवसायिक भवन अगाडि र इलाका प्रहरी कार्यालय अगाडिको स्वास्थ्य केन्द्रको क्वार्टरमा पार्किङ गर्नका लागि निर्देशन दिने निर्णय भएको छ ।

यसरी मनहरी बजारलाई सबै सरोकारवाला मिलेर शान्त र व्यवस्थित पार्न खोजिएको छ । यसपटक इलाका प्रहरी कार्यालयमा नयाँ कार्यालय प्रमुख आएपछि उल्लेखित निर्णयहरुको अक्षरस पालना हुने अपेक्षा गरिएको छ । यसअघि प्रहरीको कारबाही मनहरी बजारमा चुस्तदुरुस्त देखिएको थिएन । सबै सरोकारवाला, नागरिक, व्यवसायीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी, युवा, किसान मिलेर मनहरी बजारलाई व्यवस्थित बनाउनु आवश्यकता रहेकाले यस्तो निर्णय गरिएको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका महासचिव पदमबहादुर तितुङले बताउनुभयो ।

समितिका सभापति नारायण सुवेदीको सभाध्यक्षता तथा ७ नं वडाध्यक्ष ठाकुरराम तितुङको बिशेष आथित्यतामा बसेको बैठकमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक एबम् कार्यालय प्रमुख बिनोद श्रेष्ठ, प्रहरी नायब निरीक्षक भरतबहादुर दुरा, शसस्त्र प्रहरी आइआरटी पोष्टका प्रमुख मानबहादुर खड्कासहित उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका बरिष्ठ उपाध्यक्ष गणेश मानन्धर, उपाध्यक्ष रामचन्द्र उप्रेती, महासचिव पदमबहादुर तितुङ, सचिव शंकर कालाखेती, कोषाध्यक्ष जलाल दिन मियाँ, सह कोषाध्यक्ष चन्द्रमणि पाठक, सदस्य बिष्णुराम कालाखेती लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here