मनहरी–इलाका प्रहरी कार्यालय मनहरीमा चेकजाँचका क्रममा सबारी साधनका कागजपत्रसहित नगद घुस दिन खोज्ने सबारी साधनका चालक र सहचालकहरु समातिएका छन् ।

ढुंगा र इटा लोड गरेर ढुवानी गर्न लैजाने क्रममा रहेका तीनवटा ट्रकका चालक र सहचालकलाई प्रहरीले पक्रेको हो ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी नायब निरीक्षक भरतबहादुर दुराका अनुसार शनिबार बिहान १ बजेको समयमा इटा लोड गरी रौतहटको गरुडाबाट गोरखा जान लागेको ना ६ ख ७८२४ नंको ट्रकसहित चालक रौतहटको माधवनारायण नगरपालिका १ घर भएका रामनाथ यादव र सहचालक रौतहट जिल्ला गढीमाई नगरपालिका ९ घर भएका रविन्द्रकुमार सहनीलाई पक्राउ गरिएको छ । सहचालक सहनीले चेकजाँचका क्रममा सवारी साधनको कागजपत्रसहित प्रहरीलाई एकसय रुपियाँ थमाउन खोज्दा पक्राउ परेका हुन् ।

त्यसैगरी ढुंगा लोड गरी हेटौँडाबाट होङ्सी सिमेन्ट उद्योग नवलपरासी जान लागेको ना १ क ८६९७ नंको ट्रकका चालक हेटौँडा ११ घर भएका भीमबहादुर लामाले पनि सवारी कागजातसहित एक सय रुपियाँ प्रहरीलाई दिएलगत्तै पक्राउ परेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

त्यसैगरी सबारी साधनको कागजपत्रमा रु ५० को नोट दिने क्रममा रौतहटको गुजरा नगरपालिका २ घर भएका सह चालक मंगल तामाङ र चालक पेमा तामाङ पक्राउ परेका छन् ।

रौतहटबाट काठमाडौँ जाने क्रममा रहेको ना ६ ख ६७९ नं ट्रकमा इटा लोड गरी काठमाडौँ लैजाने क्रममा मनहरीमा चेकजाँच हुँदा सहचालक मंगल तामाङले प्रहरीलाई ५० रुपियाँ बुझाएको पाइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी नायब निरीक्षक भरतबहादुर दुराले जानकारी दिनुभयो ।

आफ्नो सबारीको कागजपत्र अध्यावधिक नगरी प्रहरीलाई प्रलोभन दिलाएर काम गराउन खोजेको आरोपमा पक्राउ परेका चालक र सहचालकहरुलाई मुद्दा चलाउनेगरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here