मनहरी–आफ्नो सबारी साधन दुर्घटनामा परेर मान्छेको मृत्यु भएको र गम्भीर घाइते भएको अबस्थामा पनि प्रहरीको सम्पर्कमा नआएका सबारी धनीलाई ७ महिनापछि इलाका प्रहरी कार्यालय मनहरीले पक्राउ गरेको छ ।

भरतपुर उपमहानगरपालिका वडा नं २ बस्ने सुरेश थापा मगरलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठका अनुसार २०७६ साल चैत ३ गते मनहरी गाउँपालिका वडा नं ६ सुनाचुरीमा गोर लोड गरी पूर्वतर्फ जाने क्रममा नाम ६ खा २३७ नं को ट्रक पल्टँदा एकजनाको ज्यान गएको थियो ।

ट्रकमा गोरुको हेरचाह गर्ने मोहम्मद इस्तियाकको मृत्यु भएको र अर्का हेरालु मकबुल महरुक मुसलमान घाइते भएपनि सबारी धनी थापाले औषधी उपचार, क्षतिपूर्ति लगायत कुनै पनि दायित्व जिम्मेवारी नगरी प्रहरीको सम्पर्कमै आएका थिएनन् ।

सबारी धनी सम्पर्कमा नआउँदा ट्रकका चालक मनहरी गाउँपालिका ४ का सुरज थिङ भीमफेदीस्थित कारागारमा पुर्पक्ष थुनामा राखिएका छन् ।

सबारी धनी पक्राउ परेकाले उपचार खर्च र क्षतिपूर्ति व्यहोर्ने वातावरण बनाउनका लागि सहजीकरण गर्ने र मुद्दाको छिनोफानो हुनेगरी प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here