मनहरी–नयाँ बस्ती स्थापना गरेर बाँकी रहेको मनहरी गाउँपालिका ७ रमौलीस्थित खुला जमिनमा रंगशाला निर्माण गर्ने मनहरी गाउँपालिकाको तयारीमा खेलप्रेमी, स्थानीयबासी र सरोकारवालाले ऐक्यवद्धता जनाएका छन् ।
मदन भण्डारी रंगशाला नामाकरण गरी मास्टर प्लान समेत बनाएको गाउँपालिकाको महत्वकाक्षी योजनालाई सफल पार्न गाउँपालिकास्तरीय खेलकुद विकास समितिले अग्रसरता लिएको छ । गाउँपालिकास्तरीय खेलकुद विकास समितिको सहजीकरण र पहलकदमी तथा गाउँपालिकाको माग सिफारिसमा चालू आर्थिक बर्ष २०७७/७८ का लागि ४० लाख बजेट बिनियोजित गरी कार्य आरम्भ गर्न लागिएको समितिका अध्यक्ष नवीन सुवेदीले जानकारी दिनुभयो ।
४० लाख रुपियाँले रंगशाला क्षेत्रको कम्पाउन्ड निर्माण हुने बताइएको छ । बलियो कम्पाउन्ड तयार गरी रंगशाला क्षेत्रको जग्गालाई सुरक्षित राख्नेगरी काम थालिने समिति अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
केही दिनअघि मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोली र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामासहितको टोलीले रंगशाला क्षेत्रको अवलोकन समेत गर्नु भएको थियो ।
शनिबार बिहान बागमती प्रदेश सांसद ओमबहादुर ग्लान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, वडाध्यक्षहरु साधुराम अधिकारी, दिलबहादुर स्याङ्तान, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष पुकार सुवेदी, नेकपाका नेता तथा खेलाडीहरुको उपस्थितिमा रंगशाला निर्माणको कामलाई जोडदार रुपमा अघि बढाउने र राजनीतिक पूर्वाग्रह राखेर काम नगरिने प्रतिबद्धतासहित छलफल भएको छ ।
‘यो रंगशाला निर्माणका लागि बैकल्पिक स्रोतहरुको पनि खोजी गर्नुपर्नेछ’, सांसद ग्लानले भन्नुभयो–‘कुनै पनि हालतमा रंगशालाको काम सम्पन्न गर्नेगरी खेलकुद विकास समिति र जनप्रतिनिधिहरु लाग्नुपर्छ ।’ उहाँले आफ्नो तर्फबाट प्रदेश सरकारको ध्यानाकर्षण गराइने बताउनुभयो ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले रंगशाला निर्माणका क्रममा हुने भौतिक निर्माणसहित अन्य सामाजिक सहजीकरणका कामहरुमा समेत स्थानीयबासिन्दा र खेलप्रेमीहरुले बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले खेलकुदका अन्य गतिविधिहरु नभइरहेको बेलामा खेल मैदान निर्माणको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्थानीय क्लवका पदाधिकारीहरु, नेकपा मनहरीका सचिव हेमलाल उप्रेती, पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रघुनाथ रुम्बा, साना किसान कृषि सहकारी संस्था मनहरीकी अध्यक्ष बिमला कार्कीसहित खेलाडी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।
यसैबीच सोही भेलाले भीमसेन खड्को अध्यक्षतामा रंगशाला निर्माण उपभोक्ता समिति गठन गरेको छ ।
समितिले निर्माणको काम मात्रै भन्दा पनि संरक्षण र सम्बद्र्धनका काममा समेत ध्यान दिने खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदीले बताउनुभयो । ‘अब रंगशालाको कामले रफ्तार लिनेगरी संयन्त्र निर्माण गरेका छौँ’, अध्यक्ष सुवेदीले भन्नुभयो–‘स्थानीय, प्रदेश र केन्द्र सरकारसम्म पहलकदमी लिएर रंगशालाको काममा हामी जुट्ने छौँ ।’