मनहरी–धेरैलाई लागेको छ नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ नभएपछि विद्युत झ्याप्प झ्याप्प गइरहेको छ । र, एक हिसावले हेर्दा हो जस्तो पनि देखिन्छ ।

पश्चिम मकवानपुरको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकासम्म जोडिने युनिलिभर फिडरमा पनि केही दिनयता कहिले ५ घण्टा त कहिले झ्याप्प झ्याप्प लाइन गइरहेको छ । सबैले कुलमान घिसिङ नभएपछि यस्तो भएको भन्ने गफ गर्छन् । तर, नेपाल विद्युत प्राधिकरण हेटौँडा बितरण केन्द्रको दुःख अर्कै छ ।

युनिलिभर फिडर भएर आउने विद्युत प्रबाहमा हेटौँडा उपमहानगरपालिका अन्तर्गत पर्ने बस्तीपुर, तीन ताप्के क्षेत्रमा रहेका कमजोर विद्युत पोल र तारले एकसातादेखि सताइरहेको छ । उक्त क्षेत्रमा रहेका १० वटा पोलमध्ये ४ वटा पोल अहिले पनि काठकै छ । कहिले पोल ढल्ने गर्छ भने दिनहुँजसो ११०० केभीए प्रसारण हुने तार तात्तिएर खस्ने गरेको नेपाल विद्युत प्राधिकरण हेटौँडा बितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले बताउनुभयो ।

उक्त क्षेत्रमा ०.०३ बर्ग इन्चको तार छ । उक्त तारको क्षमता १२८ एम्पियर विद्युत प्रबाह हुने हो । तर, अहिले बसामाडी, बस्तीपुर, नेवारपानी, मनहरी लगायत क्षेत्रमा धेरै क्रसर उद्योग र अन्य उद्योगहरु थपिएपछि उक्त तार भएर क्षमताभन्दा बढी अर्थात १८२ एम्पियर विद्युत प्रबाह हुनेगरेको छ । क्षमताभन्दा बढी विद्युत प्रबाह हुँदा तार तात्तिएर चुँडिने गरेको प्राधिकरणका प्रमुख ठाकुरले बताउनुभयो । ती तार मिलाउन समय लाग्ने हुँदा विद्युत प्रबाह अबरुद्ध हुनेगरेको छ ।

उक्त क्षेत्रमा स्थानीयबासिन्दा घरजग्गा भएर पोल गाडिएको र विद्युत प्रबाह भइरहेकाले तारको क्षमता बृद्धि गरी ०.१ बर्ग इन्चको तार र फलामे पोल गाड्न खोज्दा स्थानीयले अबरोध गरेको प्राधिकरणको भनाई छ । नयाँ बलियो तार र पोल हाल्न खोज्दा अबरोध भइरहेकोले विद्युत सुधार गर्न नसकिएको र दिनहुँजसो तार झरेर लामो समय विद्युत अबरुद्ध हुनेगरेको प्राधिकरण प्रमुख ठाकुरले बताउनुभयो ।

स्थानीयले अबरोध नगरेमा दुई दिन लगाएर नयाँ तार र पोल फेर्ने बित्तिकै विद्युत समस्या नआउने उहाँले दाबी गर्नुभयो । ‘स्थानीयले अबरोध नगरिदिने हो भने दुई दिन बिजुली कटौती गरेर भए पनि विद्युत सुधार गथ्र्याै’, प्रमुख ठाकुरले भन्नुभयो–‘त्यसपछि निरन्तर विद्युत प्रबाह हुनेथियो ।’ तर, विद्युत तारपोलहरु सुधार गर्दा दुई दिन विद्युत कटौती हुन सक्ने उहाँले बताउनुभयो ।

यद्यपि, कहिले तारपोल सुधारका लागि विद्युत कटौती हुने भन्ने यकीन भइसकेको छैन । त्यसका लागि स्थानीयको अबरोध हट्न जरुरी रहेको प्राधिकरणको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here