मनहरी–मनहरी गाउँपालिकाले ८ नं वडा कार्यालयमा सञ्चालनमा ल्याएको आइसोलेसन वार्डलाई कोभिड अस्पताल बनाइने भएको छ ।

गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक यस्तो निर्णय गरेको हो । कोभिड १९ संक्रमणमा परी कतिपय अस्पतालहरुमा उपचार नपाएरै बिरामीको मृत्यु हुने गरेका घटनालाई मध्यनजर गरी चिकित्सकीय सेवासहित अन्य उपकरणहरु खरिद गरी गाउँपालिकाले कोभिड अस्पताल चलाउन लागेको हो । यसको आन्तरिक तयारी सुरु गरिएको गाउँपालिका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी मनहरी ७ स्थित श्री आधारभूत विद्यालयमा सञ्चालनमा ल्याइएको क्वारेन्टाइनलाई आइसोलेसन बनाइने भएको छ । संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले अब होम क्वारेन्टाइनलाई नै प्राथमिकतामा राखिएको छ । नागरिक समाजको आवाज मनहरी ८ स्थित आमाघरलाई नै आइसोलेसन बनाउनका लागि आवाज उठे पनि विपद् व्यवस्थापन समितिले यसबारे निर्णय गरिसकेको छैन ।

समितिले हेटौँडा ८ मा एकै वडामा २२ जनामा संक्रमण देखिएपछि टोललाई सिल गर्ने निर्णय गरेको वडाध्यक्ष दिलबहादुर स्याङ्तानले जानकारी दिनु भएको छ । आइसोलेसन भरिएपछि अधिकाँश संक्रमितहरुलाई होम आइसोलेसनमा समेत राखिएको छ ।

मनहरी गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकमा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति, प्रहरीका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यसैबीच मनहरी गाउँपालिका वडा नं ९ रजैया बजार सिल गरिएको छ । ९ नं वडास्तरीय विपद् व्यवस्थापन समितिको निर्णयले रजैयाबजार सिल गरेको हो । त्यसैगरी कालिका सामुदायिक वन उपभोक्ता समूहको चौथमाईल क्षेत्रमा पर्ने कालिका झरना परिसर पनि सिल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here