मनमोहक कालिका झरना ।

मनहरी–लकडाउन र निषेधाज्ञाको समेत अबज्ञा गरी मनहरी गाउँपालिका ९ स्थित ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने कालिका झरनामा घुम्न जानेको संख्या अधिक रहेको थियो । अब त्यहाँ भीडभाड गर्न त के, जानै नपाइने भएको छ ।

पूर्वपश्चिम राजमार्गको चौध माइलमा पर्ने कालिका झरना हेर्दै आकर्षक र गर्मी महिनामा पौडी खेल्नका लागि गज्जवको गन्तब्य भएपनि दिनानुदिन भीड जम्मा गर्ने बानीले कोभिड १९ संक्रमणको उत्तिकै जोखिमयुक्त क्षेत्रको रुपमा रहेको थियो ।

समूहले सूचना जारी गरेर झरना जान रोक लगाएपनि दिनानुदिन मानिसहरुको संख्या बढ्न थालेपछि मनहरी गाउँपालिका ९ नं वडास्तरीय विपद् व्यवस्थापन समितिले कालिका झरना घुम्न र पौडी जान नपाउने गरी सिल गरेको छ ।

सिल गरिएपछि कोही पनि त्यो क्षेत्रमा जान नपाइने र गएमा कारबाही प्रक्रिया अघि बढाइने समितिका संयोजक एबम् ९ नं वडाध्यक्ष साधुराम अधिकारीले जानकारी दिनुभएको छ । समूहले समेत पटक पटक भीड घटाउन पहल गरेपनि अटेर गरेर घुम्न आउनेहरुको संख्या बढेकाले वडा कार्यालयलाई समेत अनुरोध गरी सिल गर्न बाध्य भएको समूहका अध्यक्ष दीपक पुलामीले जानकारी दिनुभयो । अर्काे सूचना जारी नभएसम्मका लागि सिल कायमै रहनेछ ।

पछिल्लो पर्यटकीय गन्तब्यको रुपमा कालिका झरना चर्चित हुँदै आएको छ । कालिका झरनालाई बर्षायाम र हिउँदमा समेत चल्नेगरी पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिनुपर्नेमा सरोकारवालाहरुले जोड दिँदै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here