मनहरी गाउँपालिकामा सञ्चालन हुने तीनवटा एम्बुलेन्सलाई आवश्यक पीपीईसहित सुरक्षा सामग्रीको व्यवस्था गरी सञ्चालन गरेको हाँडीखोला स्वास्थ्यचौकीस्थित एम्बुलेन्स ।

हेटौँडा–एम्बुलेन्स सञ्चालन गर्ने संस्थाहरु र चालकको गैर जिम्मेवारीपनका कारण मकवानपुरमा एम्बुलेन्स सेवाप्रतिको विश्वास घटेको छ ।

खोजेको बेला एम्बुलेन्स पाइँदैन भन्दा पनि फरक पर्दैन । अझ काठमाडौँ लैजानका लागि कुनै पनि एम्बुलेन्स तयार नभएर कतिपय बिरामीहरु निजी गाडीमा हालेर समेत काठमाडौँ लगिएका घटनाहरु सार्बजनिक हुन थालेका छन् । बिरामीलाई चाहिएको बखत एम्बुलेन्स नपाइने र पैसामुखी भएर सञ्चालन गर्ने हो भने एम्बुलेन्सको नाम दिएर साइरन बजाउनुको अर्थ नभएको भन्दै त्यस्ता एम्बुलेन्सहरु तरकारी गाडीमा रुपान्तरित गरौँ भन्ने आवाज पनि उठ्न थालिसकेको छ ।

बरु सरकारले नै केही टाटासुमो भाडामा लिएर २४ घण्टे सेवा दिने एम्बुलेन्स चलाउनुपर्ने अपरिहार्यतातिर सरकारको ध्यान जानुपर्ने सम्भावनाको पनि बहस हुन थालिसकेको छ ।

बुधबार दिउँसो हेटौँडा उपमहानगरपालिका ४ निबासी एक कोरोना संक्रमित बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजानुपर्ने थियो । नगरभित्र रहेका १२ वटा एम्बुलेन्सलाई निरन्तर पहल गर्दा पनि प्राप्त हुन सकेन । त्यसपछि मनहरी गाउँपालिकामा रहेका ३ वटा एम्बुलेन्समा पहल थालियो । राक्सिराङ र कैलाश गाउँपालिकाको एम्बुलेन्सबारे पनि खोजबीन भयो । तर, ५ घण्टा बित्दा समेत एम्बुलेन्स पाइएन । बल्ल बल्ल हेटौँडा अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेल, ४ नं वडाध्यक्ष नवीन सिग्देल, नेकपाका नेताहरु बद्रीप्रसाद लम्साल, श्रीधर पोखरेलसहितको जोडबलमा एम्बुलेन्स व्यवस्थापन गरी बिरामीलाई काठमाडौँ लगियो ।

“एम्बुलेन्स खोज्दा खोज्दै ५ घण्टा बित्यो”, पूर्व जिविस उपसभापति तथा सहकारी अभियन्ता बद्रीप्रसाद लम्सालले भन्नुभयो–“आम सर्बसाधारणलाई सहज र छिटो सुविधा दिनुपर्ने एम्बुलेन्सको अस्तब्यस्त मनमौजी पाराले बिरामीहरु पीडित हुनुपरेको घटना आफैले भोगेँ ।”
मकवानपुर जिल्लामा रहेका ३२ वटा एम्बुलेन्स मध्ये १९ वटाले आवश्यक पर्दा कोरोना संक्रमित समेत बोक्ने गरी छुट्टै क्याबिन निर्माण गरी सुरक्षित विधि अपनाएर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा अस्पतालमा कोरोना संक्रमित बोक्नकै लागि भनेर मकवानपुर सहकारी अस्पताल र नारायणी यातायात व्यवसायी संघको एम्बुलेन्सलाई तोकेर राखिएको एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका समेत अध्यक्ष रहनु भएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल बताउनुहुन्छ । तर, बागमती प्रदेशको राजधानी हेटौँडामै एम्बुलेन्स नपाएर बिरामीले ५ घण्टा पर्खनुपरेको घटनाले मकवानपुरबासीलाई लज्जित बनाएको छ ।

समितिका सदस्य सचिव रहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायका अनुसार फरक फरक संघसंस्थाहरुले एम्बुलेन्स सञ्चालन गरेकाले ‘एकद्वार प्रणाली’ हुन नसक्दा समस्या आएको हो । “एम्बुलेन्स चालकहरु साँझ परेपछि फोन नउठाउने, गाडी बिग्रियो भनेर पन्छिने गरेका थुप्रै गुनासोहरु आउने गरेका छन्”, उपाध्याय भन्नुहुन्छ–“यस्ता गुनासाहरु लिखित रुपमा आएमा एम्बुलेन्स सञ्चालकहरुलाई कारबाही गरिनेछ ।”

एम्बुलेन्स चालकहरु हेटौँडाबाट भरतपुरसम्म बिरामी लैजान राजी हुनेगरेको र काठमाडौँ जानका लागि तयार नहुने गरेको पाइएको छ । एकाध एम्बुलेन्स चालक मात्रै काठमाडौँका लागि राजी हुन्छन् । “भरतपुर जाँदा पनि बिरामी बोक्न पाइने, आउँदा पनि बिरामी बोक्न पाइने हुँदा अधिकाँश एम्बुलेन्स चालकहरु काठमाडौँ जानै चाहँदैनन्”, एक एम्बुलेन्स चालकले भन्नुभयो–“दोहोरो कमाई हुनेतिर नै लाग्ने अधिकाँशको चलन छ ।”

एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका सचिव उपाध्यायले केही दिनभित्रै नगरभित्रका १२ वटा एम्बुलेन्समा गुगल ट्रयाकिङ सुरु गरिने बताउनुभयो । एम्बुलेन्सबारे आफूले पनि गुनासो सुनिरहेको बताउँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले स्थानीय तहमा रहेको एम्बुलेन्सको व्यवस्थापन सम्बन्धित स्थानीय तहले नै गर्नका लागि सहजीकरण गरिएको बताउनुभयो ।

हेटौँडा अस्पताल विकास समिति अध्यक्ष प्रकाश पौडेल एम्बुलेन्स सञ्चालन गर्ने संस्थाहरु जिम्मेवार नभई चालकहरुलाई नै सर्वेसर्वा बनाउने गरेकाले समस्या आइरहेको बताउनुहुन्छ । उहाँले कोरोना संक्रमित बोक्नका लागि अस्पतालमा व्यवस्थापन गरिएको २ वटा एम्बुलेन्सले नियमित सेवा दिइरहेको बताउनुभयो ।

पछिल्लो समयमा एम्बुलेन्सलाई व्यापारिक हिसावले मात्रै हेरिएको भन्दै आलोचना सुरु भएको छ । मकवानपुरमा सञ्चालित एम्बुलेन्सका अधिकाँश चालकहरु रातिको समयमा र अफ्ठ्यारो परेका बेला बिरामीलाई रेस्पोन्स नगर्नेगरेको गुनासो बढ्दो क्रममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here