कर्मचारीमा कोरोना देखिएपछि सटर बन्द गरिएको सेन्चुरी बैँकको एटीएम काउन्टर ।

मनहरी–कोरोना संक्रमण भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बन्द भएका मनहरी बजारका बैँकहरुले सेवालाई सुचारु गर्न सकेका छैनन् । निषेधाज्ञाका कारण बैँकहरु बन्द गर्नुपरेको उनीहरुको भनाई छ ।

बैँकिङ सेवा दिन नसकिए पनि मनहरी बजारमा रहेको दुईवटा एटीएम काउन्टरले समेत सेवा दिन नसक्दा मनहरीबासी समस्यामा परेका छन् । मनहरीमा स्थापना भएको सबैभन्दा पहिलो बैँक अल्पाइन विकास बैँक (हाल सेन्चुरी कमर्सियल बैँक) र सिटिजन्स बैँक इन्टरनेशनलले एटीएम सेवा प्रदान गरिरहेको थियो । तर, केही दिनदेखि दुबै बैँकका एटीएमले पैसा दिएको छैन । सेन्चुरी कमर्सियल बैँकको एटीएममा त झन् सटर लागेको छ ।

बैँकमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमण देखिएकाले सबै कर्मचारीको पिसिआर परिक्षण गर्ने प्रक्रिया अघि बढेकाले एटीएम सेवा बन्द गरिएको सेन्चुरी कमर्सियल बैँकका शाखा व्यवस्थापक सुदन अधिकारीले बताउनुभयो । यद्यपि यो एटीएम मेसिनमा निषेधाज्ञा नहुँदा पनि अधिकाँश समय पैसा झिक्न समस्या हुँदै आएको ग्राहकहरुको गुनासो छ ।

उता सिटिजन्स बैँक इन्टरनेशनलको एटीएम मेसिनमा पैसा सकिएकाले समस्या भएको बैँकले जनाएको छ । ‘पैसा सकिएपछि निषेधाज्ञा र बजार सिल भएका कारण हाल्न सकिएको छैन’, बैँकका शाखा व्यवस्थापक रविन्द्र पौडेलले भन्नुभयो–‘आइतबार मेसिनमा पैसा हाल्ने व्यवस्था मिलाउँदैछौँ ।’

सिल गरिएको र निषेधाज्ञा गरिएको भए पनि बैँकको एटीएम सेवालाई सहज ढंगले सञ्चालन गर्न गाउँपालिका, बिपद् व्यवस्थापन समिति लगायत निकायहरुमा छलफल हुने गरेको भए पनि स्थानीय सरकार तथा प्रशासनसँग यहाँका बैँकहरुले समन्वय गरिरहेका छैनन् ।

गाउँपालिकाबाट बितरण हुने सामाजिक सुरक्षा भत्ता पनि यहाँका बैँकहरुले व्यवस्थित रुपमा बितरण गर्न नसकेको, बृद्धबुद्धाहरुलाई अनाबश्यक दुःख दिएर फर्काउने गरेको गुनासो सुनिदै आएको छ ।

मनहरी बजारमा मुक्तिनाथ विकास बैँक, एनआइसी एसिया, महालक्ष्मी, सेन्चुरी र सिटिजन्स बैँकको शाखा रहेको छ । यी बैँकहरुले मनहरीसहित कैलाश र राक्सिराङ गाउँपालिकाका ग्राहकलाई पनि सेवा दिइरहेको छ । त्यसैगरी एकदर्जन लघु बित्तीय संस्थाहरु यस क्षेत्रमा क्रियाशील भए पनि यहाँका आर्थिक सामाजिक विकासमा सरोकार राख्ने स्थानीय तह, वडा कार्यालय, स्थानीय प्रशासनसँग कुनै पनि समन्वय भइरहेको छैन ।

अहिले बिहान ९ बजेसम्म बजार खुल्न थालेपछि दैनिक दर्जनौ ग्राहकहरु एटीएम मेसिनमा आउँदै फर्कदै गरेका छन् । बैँकको एटीएम सेवालाई प्रभावकारी बनाउनका लागि स्थानीय तहले हस्तक्षेप गर्नुपर्ने सुझाव ग्राहकहरुले दिन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here