पुलको एप्रोच सडकका लागि नाप गर्दै ।

राक्सिराङ–सिमपानी सरिखेत सडक खण्ड अन्तर्गत पर्ने राक्सिराङ ३ स्थित चुर्लिङ खोलामा पक्की पुलका निम्ति सरोकारवालाले फिल्ड अनुगमन गरेका छन् ।

पक्की पुल निर्माणको ठेक्का प्रक्रिया सुरु हुनुअघि प्रतिनिधि विरोध खतिवडाको पहलमा सरोकारवालाहरुको अनुगमन र अबस्था बिश्लेषण लगायतका क्रियाकलापहरु अघि बढाइएको हो । सो क्रममा बागमती प्रदेशका सांसद ओमबहादुर ग्लान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, जिल्ला समन्वय समिति सदस्य सानुकान्छी स्याङ्तान, राक्सिराङ ३ नं वडाध्यक्ष बाबुलाल स्याङ्तान, मनहरी ८ नं वडाध्यक्ष दिलबहादुर स्याङ्तान, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उपसभापति लालबहादुर थापा, जनप्रतिनिधिहरु केदार सुवेदी, पुष्कार सुवेदी, नेपाली काँग्रेसका बीरेन्द्र जिम्बा, प्रकाश रंगाली लगायत सहभागी हुनुहुन्थ्यो । राजनीतिक व्यक्तिहरु सम्मिलित प्राविधिक टोलीले पुल बन्ने क्षेत्र मैनाटार किनार र काली खोला दोभान क्षेत्रको अनुगमन र अवलोकन गरेको हो ।

अनुगमनका क्रममा डिभिजन सडक कार्यालय हेटौँडाबाट खटिएका प्राविधिक दीपक झालगायत सहभागी हुनुहुन्थ्यो । डिभिजन सडक कार्यालयका इन्जिनियर झाका अनुसार दुई स्पानका पक्की र आधुनिक प्रविधिको पुल चुर्लिङ खोलामो बन्नेछ । पुलको लम्बाई ८० मिटर र चौडाई १० मिटर रहने उहाँले बताउनुभयो । पुल निर्माणसँगै एप्रोच सडक निर्माणका लागि पनि सरोकारवाला जग्गाधनीसँग टोलीले छलफल गरेको छ ।

पुल निर्माणका लागि स्थानीय राजनीतिक दल तथा सरोकारवालाले पूर्ण रुपमा सहयोग गर्ने र आवश्यक जग्गा समेत उपलब्ध गराउने गरी सहजीकरण गरिने प्रतिबद्धता स्थानीयबासिन्दाले टोली समक्ष ब्यक्त गरेका थिए ।

चालू आर्थिक बर्षमै कार्यान्वयन हुने गरी केही दिनभित्रै पुलको ठेक्का प्रक्रिया अघि बढ्ने डिभिजन सडक कार्यालय हेटौँडाले जनाएको छ । सिमपानी सरिखेत सडक खण्डलाईलाई राक्सिराङ गाउँपालिकामा सीमित नराखी थाहानगर र चन्द्रागिरी जोड्ने रणनीतिक बाटोको रुपमा विकास गर्दै लगिने बागमती प्रदेशका सांसद ओमबहादुर ग्लानले जानकारी दिनुभयो ।

निर्माण सुरु हुन लागेको पक्की पुलको जतिसक्दो ठेक्का प्रक्रिया अघि बढाउनका लागि आफूले विभागीय शाखाहरुमा प्रयत्न गरेको प्रतिनिधि सभा सांसद खतिवडाले जानकारी दिनुभयो । ‘निरन्तर फलो अपपछि अब पुल बन्ने दिशामा काम अघि बढेको छ’, सांसद खतिवडाले भन्नुभयो–‘यसै बर्ष पक्की पुलको देखिने गरी प्रगति हासिल गर्न स्थानीय तहमा सबैले वातावरण बनाउनु जरुरी छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here