मनहरी–सजिलो भएका बेला अन्य बाटाहरु प्रयोगमा आएपनि राक्सिराङ र कैलाश गाउँपालिकाका बासिन्दाले सिमपानी–सरिखेत सडकलाई दुःखको बेला प्रयोग गर्नेगरेका छन् । अर्थात सिमपानी–सरिखेत सडक खण्ड यस भेगका बासिन्दाको लागि दुःखको सारथी नै हो ।
राक्सिराङ गाउँपालिका वडा नंं २ र ३ का बासिन्दा तथा कैलाश गाउँपालिका वडा नं ४ र ७, ८ का बासिन्दाले पनि बर्षायाममा हिँड्ने बाटो यही नै हो । जब मनहरी खोला उर्लेर आउँछ, त्यतिखेर सरिखेत मात्र होइन माथिल्लो भेगका बासिन्दाको मूल बाटो नै सिमपानी–सरिखेत बाटोको रुपमा रहने गर्छ । मनहरी–प्याङ्चे सडकमा पहिरो खसेपछि राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिहरु समेत गाडी चढेर पुग्ने बाटो यही नै हो ।
तर, सिमपानी सरिखेत खण्डमा पर्याप्त केन्द्रीय बजेट बिनियोजन हुँदैन । बिनियोजन भएको बजेटको कार्यान्वयन पनि ठेकेदारले सही रुपमा नगर्दा बाटोले जुन गति लिनुपर्ने थियो, त्यही रुपमा लिएको पाइँदैन । मनहरीबाट राक्सिराङ गाउँपालिकाको वडा नं १, २, ३, ५ पुग्नका लागि अहिले पनि बर्षायाममा समेत सिमपानी–सरिखेत खण्डमा अटो लगायत बोलेरो गाडीहरु सञ्चालनमा छ । तर, सिमपानी–सरिखेत खण्डमा पर्ने चुर्लिङ खोला यो सडकका लागि बाधक बनेर आइदिन्छ । पक्की पुलको अभावका कारण पनि यो बाटो दुई दशकदेखि ओझेलमा पर्दै आइरहेको छ ।

अब चुर्लिङ खोलामा पक्की पुल
सिमपानी–सरिखेत सडक खण्ड अन्तर्गत राक्सिराङ गाउँपालिका वडा नं ३ मा पर्ने चुर्लिङ खोलामा यसै बर्ष पक्की पुल निर्माण सुरु हुने भएको छ । संघीय सरकारको लगानीमा पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाले बताउनुभयो । ‘म अस्ति पनि पुल शाखामा पुगेर फलो अप गरेको छु’, सांसद खतिवडाले भन्नुभयो–‘डिजाइन तयार गरिएको रहेछ, त्यसमा केही संशोधन गर्ने बित्तिकै पुलको ठेक्का लगाउनका लागि सम्बन्धित विभाग र डिभिजन सडक कार्यालयलाई घच्घचाएको छु ।’
पुल कति लामो बन्ने वा कति लागत लाग्ने भन्ने यकीन हिसाव डिजाइन हेरेर मात्रै थाहा हुनेछ । तर फाइनल डिजाइन पाएको एकसाताभित्र ठेक्का प्रक्रियाले गति लिने गरी काम अघि बढाइने डिभिजन सडक कार्यालय हेटौँडाका प्रमुख सुमन योगेशले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘त्यस क्षेत्रका माननीयले पनि यो बिषयमा निरन्तर फलो अप गरेको ग¥यै हुनुहुन्छ, यो बर्ष पक्की पुल निर्माण सुरुवात हुनेमा तपाईहरु बिश्वस्त हुनुहोस् ।’
सिमपानी–सरिखेत खण्डको चुर्लिङ खोलामा पुल हालिएपछि यो सडकले गति लिनेछ । त्यससँगै सरिखेत–बोटबारी अर्काे पक्की पुलको डिपिआर गरिएको छ । राक्सिराङ गाउँपालिका ५ बोटबारी र वडा नं ३ सरिखेत जोड्नका लागि मनहरी खोलामा पुल बनेमा गाउँपालिका केन्द्र चैनपुर पुग्नका लागि पनि सहज हुनेछ । त्यसो त मनहरी–धादिङ सडक बन्दा चुर्लिङ र मनहरी खोलाको पुलकै कारण सिमपानी सरिखेत खण्ड सञ्चालनमा आउन सक्नेतर्फ पनि यस क्षेत्रका बासिन्दाले सम्भावना देखेका छन् ।
राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर जोड्ने मनहरी–प्याङ्चे–चैनपुर सडकमा पहिरो जाने र सडक बिस्तार गर्न नसकिने भएकाले पनि सिमपानी–देवकोट हुँदै सरिखेत पुग्ने खण्डले प्राथमिकता पाउने अनुमान गरिन्छ ।
यद्यपि मनहरीबाट सीधा ५२ किलोमिटरमा धादिङ जोड्ने खण्ड निर्माण गर्ने हो भने मनहरी ८ को बेलुवा पुलछेउबाट सडक निर्माण गरी बसढुंगाबाट दारिमबास जोड्ने पुल निर्माणबारे पनि छलफल चलेको छ । अहिले राक्सिराङ ३ सरिखेत जोड्नका लागि सिमपानी–देवकोट–सरिखेत सडक, पिप्ले–केराबारी–ज्यामिरे सडक निर्माणाधीन अबस्थामा छ । पक्की पुल बनिसकेपछि भने यो सडकको प्रभावकारिता अझै बढ्ने विश्वास गरिएको छ ।
ऐतिहाँसिक बाटो
सिमपानी–सरिखेत सडक ऐतिहाँसिक सडक हो । यसको निर्माण सुरुवात दुई दशकअघि भएको हो । तत्कालीन लालबहादुर थापा सरिखेत गाविसका अध्यक्ष हुँदाताका थालिएको यो बाटो निर्माणका लागि तत्कालीन नेकपा एमाले इलाका इन्चार्ज एबम् हाल मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, इलाका सचिव रामहरि सुवेदीसहित सांसद बिरोध खतिवडा लगायतको छलफलबाट यो बाटोको निर्माण सुरुवात गरिएको थियो ।
सांसद खतिवडाले पटक पटक यस खण्डको निर्माणमा बजेट बिनियोजन गराउनु भएको छ भने अर्का सांसद केदार न्यौपानेले पनि यो खण्डमा बजेट लगानी गर्नु भएको छ । ‘हामीले तत्कालीन इलाका सचिव रामहरि सुवेदीको घरमा बसेर यो बाटोको परिकल्पना गरेको थियौँ’, मनहरी गाउँपालिका अध्यक्ष उप्रेती सम्झनुहुन्छ–‘त्यतिखेर देवकोटका बीरबहादुर गिरीसहितका अगुवाहरुले यो बाटोका निम्ति साथ दिनु भएको कुरा म झल्झली सम्झिरहेको छु ।’ त्यतिखेर सिमपानी देवकोट संयुक्त सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष पनि भएकाले रुख काटेर बाटो बनाउन निकै ठूलो लडाईँ लड्नुपरेको उप्रेतीको भनाई छ ।