हेटौँडा–सुरुमा दैनिक ३० जनाको स्वाब परिक्षण गर्ने लक्ष्यसहित सुरु भएको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडास्थित प्रादेशिक कोरोना जाँच प्रयोगशालाले अहिले ४५० वटा सम्म प्रतिदिन जाँच गरिरहेको छ । तैपनि साउन ३२ गते दिइएको स्वाबको नतिजा भदौ ६ गते मात्रै सार्बजनिक हुनुपर्ने बाध्यात्मक अबस्था छ ।

प्रयोगशालामा काम गर्ने कर्मचारी र प्राविधिकहरु विहान ७ बजेदेखि राति ११ बजेसम्म निरन्तर खटिरहेका रहेका छन् । हेटौडास्थित थ्री स्टार लेभलको होटलमा कर्मचारीहरुलाई राखेर रातदिन खटाइरहनु भएको छ प्रयोगशाला प्रमुख नारायण कार्की । तैपनि उहाँलाई मन्त्रीसम्मले फोनमा भन्छन् ‘यो चाहिँ मेरो मान्छे, लौन छिटो जाँच गरिदिनुप¥यो ।’

२०७६ साल चैत २० गतेबाट सुरु भएको कोरोना जाँच प्रयोगशालामा अहिले दैनिक ४५० भन्दा बढीको स्वाब परिक्षण गरी जाँच हुनेगरेको छ । संघीय सरकारले दिएको एउटा मेसिनमा ११ जना कर्मचारी खटिएर लागेका छन् । कोरोना संक्रमण दर बढ्ने र आइसोलेसन वार्डहरुको बिस्तार भएसँगै यतिखेर प्रदेशभरबाट स्वाब संकलन भई प्रादेशिक प्रयोगशालामा परिक्षणका लागि प्राप्त भइरहेका छन् । दैनिक १ हजारभन्दा बढीको स्वाब संकलन भइरहेको र ४५० भन्दा बढीको रिपोर्ट दिन नसक्ने अबस्था रहेको प्रमुख कार्कीको भनाई छ । ‘प्रदेश सरकारले प्रयोगशाला सुरु गर्दा दैनिक ३० जनाको रिपोर्टको लक्ष्य राखेको थियो’, प्रमुख कार्कीले भन्नुभयो–‘अहिले दैनिक ४५० भन्दा बढीको रिपोर्ट दिइरहँदा अधिकतम गुनासो सुन्नुपरिरहेको छ ।’

संकलित स्वाबको नतिजा प्राप्त नभईकन मानिसहरु मरेको र मानसिक तनाब बढेको गुनासोहरु दिनहुँ आइरहँदा समेत प्रादेशिक प्रयोगशालासँग अर्काे बिकल्प छैन । प्रयोगशाला प्रमुख कार्की भन्नुहुन्छ–‘मेरो मान्छेको चाहिँ तत्कालै परिक्षण गरिदिनुप¥यो भनेर उच्च तहका मानिसहरुको फोन तारन्तार आइरहन्छ, तर क्षमता विकासबारे चासो र चिन्ता चाहिँ प्रकट भएको पाइँदैन ।’

कार्कीका अनुसार करिब ५५ लाख रुपियाँ पर्ने अर्काे नयाँ मेसिन ल्याउने हो भने सबैका गुनासाहरु सम्बोधन गर्न सकिन्छ । नयाँ मेसिन ल्याउने र अहिलेकै रफ्तारमा कर्मचारीहरुलाई खटाउने हो भने दैनिक ९ सय जनाको परिक्षण गर्ने क्षमताको विकास गर्न सकिने उहाँले दाबी गर्नुभयो । ‘स्वाब आएको २४ घण्टाभित्र परिक्षण नतिजा दिने क्षमता राख्छौँ’, कार्कीको भनाई छ–‘यसका लागि सरकारको तर्फबाट आवश्यक पहल होस् ।’

नयाँ मेसिन खरिद गरी सेट नै नयाँ स्थापना गर्नुपर्नेबारे आफूले सामाजिक विकास मन्त्रीसहितका सरोकारवालालाई सुझाव दिइसकेको उहाँले बताउनुभयो ।
कार्कीका अनुसार प्रयोगशालामा अहिले ११ जना कर्मचारी र प्राविधिक काम गर्नुहुन्छ । कर्मचारी र कामदारका लागि हेटौँडाको एउटा होटल व्यवस्था गरिएको छ । परिक्षणकै सिलसिलामा कति कर्मचारीहरु पोजेटिभ भएर उपचाररत पनि रहेको उहाँले बताउनुभयो । ‘चैत २० गतेदेखि न सार्बजनिक विदा, न त शनिबार नै ।, रातदिन काममै खटिएका छौँ’, उहाँले भन्नुभयो ।

प्रयोगशाला स्थापना भएयता करिब २ करोड रुपियाँ खर्च भएको कार्कीले जानकारी दिनुभयो । संघीय सरकारले दिएको मेसिनबाट अहिले परिक्षण भइरहेको हो भने कर्मचारीका भत्ता, केमिकल र अन्य व्यवस्थापकीय काम बागमती प्रदेश सरकारबाट भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here