मनहरी–कोभिड १९ बढ्दै गएसँगै निर्माण भएका आइसोलेसन कक्षहरुमा मकवानपुर कुखुरा व्यवसायी संघले मासु र अण्डाको व्यवस्थापन गर्ने भएको छ ।

हरेक संक्रमितलाई दैनिक २ वटा अण्डा र सातामा छाक मासुको निःशुल्क सहयोग गर्ने संघले जनाएको छ । हाल सञ्चालित हेटौँडा उपमहानगरपालिका ६ गौरीटारस्थित आइसोलेसन वार्ड र मनहरी गाउँपालिका ८ सिमपानी स्थित आइसोलेसन वार्डमा अण्डा र मासु बितरण गरिएको हो।
कुखुरा व्यवसायीहरुबाट संकलित मासु र अण्डा आइसोलेसन वार्डहरुमा पठाइएको संघका अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभयो ।

मनहरीस्थित आइसोलेसन वार्डमा आयोजित अण्डा र मासु हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, ८ नं वडाध्यक्ष दिलबहादुर स्याङ्तान, ९ नं वडाध्यक्ष साधुराम अधिकारी, डाक्टर दीपेन्द्र पौडेल, स्वास्थ्य संयोजक टिकाराम अधिकारी, सिनियर अहेब शिवराम बानियाँ, गैसस महासंघका सदस्य नवीन सुवेदी लगायतको सहभागिता थियो । त्यसैगरी संघका तर्फबाट उपाध्यक्ष प्रतिमा श्रेष्ठ र कोषाध्यक्ष गोविन्द सापकोटाको सहभागिता रहेको थियो ।

जिल्लाका अन्य स्थानीय तहहरुमा समेत आइसोलेसन निर्माण भइरहेकाले अण्डा र मासु अन्य आइसोलेसन वार्डहरुमा पठाउनका लागि आवश्यक समन्वय भइरहेको संघका सदस्य प्रदीप अधिकारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here