गौरीटारस्थित आइसोलेसन ।

हेटौँडा–हेटौँडा ६ गौरीटारस्थित आइसोलेसनमा कोरोना संक्रमितहरुप्रति स्वास्थ्यकर्मीले गरेको ब्यवहारबारे हेटौँडा अस्पताल प्रशासनले चासो व्यक्त गरेको छ ।

सामाजिक सञ्जाल तथा अनलाइन मिडियाहरुमा आइतबार बिहान साबुन बितरण गर्दा हु¥याइएको, मास्क बितरण पनि व्यवस्थित नभएको तथा ‘बहिनी’ भनेर सम्बोधन गर्दा सिस्टर भन्नका लागि दबाब दिएको जस्ता घटनाहरु सार्बजनिक भएको थियो । स्वास्थ्यकर्मीका कमजोरी सार्बजनिक भएलगत्तै आइसोलेसनका इन्चार्ज डाक्टर सागर काफ्लेले स्वास्थ्यकर्मीहरुसँग छलफल गरी संक्रमितहरुको मनोविज्ञान नकारात्मक नहुनेगरी काम गर्न निर्देशन दिनु भएको छ ।

उहाँले साबुन फालिएको र मास्क फालिएको बिषयमा पनि स्वास्थ्यकर्मीहरुसँग सोधपुछ गर्नु भएको थियो । स्वास्थ्यकर्मीहरुले इन्चार्ज डाक्टर काफ्लेसँग साबुन बितरण गर्दा टाढैबाट दिइएको भन्दै सामान्य जबाफ दिएका थिए ।

‘अब जे जे भयो भयो, संक्रमितहरुलाई सम्मानपूर्वक व्यवहार सबैले गर्नुपर्छ’, छलफलमा डाक्टर काफ्लेले कर्मचारीलाई निर्देशन दिनु भएको छ । उहाँले दिदीबहिनी भनेर बोलाउँदा भावनात्मक रुपमा नजिक हुने भन्दै सिस्टर भनेर सम्बोधन गरिरहनुनपर्ने पनि स्वास्थ्यकर्मीहरुलाई स्पष्ट पार्नु भएको बताइएको छ । ‘हिँजोबाट सेवा सुरु गरेका हौँ, धेरै कुरा मिल्दैछ’, डाक्टर काफ्लेले भन्नुभयो–‘हामीहरुका व्यवहारले बाहिर नकारात्मक धारणा नबनोस् भन्नेमा हामी दृढ छौँ ।’ । गल्ती कमजोरीहरु भएका भए स्वीकारेर अघि बढ्ने क्रममा रहेको उहाँले बताउनुभयो ।

हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले भर्खरै सुरु भएको सेवाबारे अनेकन कमीकमजोरी भएको हुन सक्ने भन्दै कमीकमजोरीबाट पाठ सिकेर अघि बढ्ने बताउनुभयो । उहाँले पहिलो दिन समयमै खाना समेत खुवाउन नसकिएको भन्दै सबै कुराहरु मिल्न अझै एक साता लाग्न सक्ने बताउनुभयो । ‘कर्मचारीहरुका तर्फबाट गल्ती कमजोरी भएमा सुधार्नका लागि समितिले पनि पहल गर्नेछ’, अध्यक्ष पौडेलको भनाई थियो–‘जसको सेवा गर्न बसेका छौँ, उ नै खुसी भएन भने सेवा गर्नुको अर्थ हुनेछैन ।’ सुधारकै क्रममा आफूहरु रहेको उहाँको भनाई छ ।

घटनाले संक्रमितहरुको स्वाभिमान र सम्मानपूर्वक उपचार पाउनुपर्ने मानव अधिकारको समेत उल्लंघन हुनसक्ने बहस भइरहँदा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले गल्ती कमजोरी भएको भए सुधार गर्न वा स्वास्थ्यकर्मीको बैकल्पिक व्यवस्था गर्नका लागि अस्पताल प्रशासनलाई सुझाव दिइने बताउनुभयो ।

शुक्रबारदेखि गौरीटारमा आइसोलेसन सञ्चालनमा छ । संक्रमितहरुले पहिलो दिन नै खाना नपाएको, मास्क नपाएको, औषधीहरु समेत नपाएको भन्दै आलोचना भएको थियो । तर, हेटौँडा अस्पताल विकास समितिले सबै आलोचनाहरुबाट पाठ सिकेर सुधारका कामहरु गरिरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here