मनहरी गाउँपालिका ८ नं वडा कार्यालय हटाएर निर्माण गरिएको आइसोलेसन वार्ड ।

मनहरी–कोभि १९ को संक्रमण रोक्नका लागि स्थानीय तहले गरिरहेका उदाहरणीय कामबाट आशाको सञ्चार हुनेगर्दछ ।

कोरोनासँगै देशको राजनीतिक, आर्थिक, सामाजिक पाटोको बिश्लेषण गरी बिक्षिप्त भएका जनतामाझ मकवानपुरको मनहरी गाउँपालिकाले कोभिड १९ संक्रमण रोक्न गरेका कामको चौतर्फी प्रशंसा गरिएको छ । सुरुमा विदेशबाट आफ्ना नागरिकलाई गाउँपालिका ल्याउने, ज्वरो जाँच्ने कामबाट सुरु भएको कोभिड १९ संक्रमण नियन्त्रणको यात्रा यतिखेर आइसोलेसन वार्ड सञ्चालनसम्म पुगेको छ ।

मनहरी गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले संक्रमण बढ्दो क्रममा हुँदा आइसोलेसन अनिबार्य निर्माण गर्नुपर्ने निर्णयसहित स्थान खोजी गर्न एउटा कार्यदल नै निर्माण गरेको थियो । सो बमोजिम मनहरी गाउँपालिका ८ नं वडा कार्यालयमा आइसोलेसन स्थापना अन्तिम चरणमा पुगेको छ । ८ नं वडा कार्यालयलाई श्रोत केन्द्र भवनमा सिफ्ट गरी वडा कार्यालयमा संक्रमितहरुलाई राखेर उपचार गर्ने व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

अहिले पहिलो चरणमा २० बेडको आइसोलेसन वार्ड सञ्चालन हुनेछ । त्यसका लागि आवश्यक बेडहरु, शौचालय, किचन लगायत सरसफाईका कामहरु धमाधम भइरहेको अध्यक्ष उप्रेतीले बताउनुभयो । ‘केहीदिनअघि नै यो काम भइसक्थ्यो’, अध्यक्ष उप्रेतीले भन्नुभयो–‘अनाबश्यक रुपमा केही मानिसहरुले आइसोलेसन राख्नु हुँदैन भनेर हल्ला गर्नाले केही ढिला हुन गयो ।’

केही मानिसहरुले वडा कार्यालयमा आइसोलेसन राख्नु हुँदैन भन्दै तीनवटा ताल्चा लगाएको अध्यक्ष उप्रेतीले सुनाउनु भयो । ‘आइसोलेसनको बिपक्षमा रहेका मानिसहरुसँग टेलिफोनमा पनि धेरै कुराहरु गरेँ’, अध्यक्ष उप्रेतीले भन्नुभयो–‘पछि सबैले आइसोलेसनको महत्व बुझेपछि समस्या हटेको र नेपाल प्रहरी आएर ताल्चा खोलिदिएको उहाँको भनाई छ । कसैले हल्ला फैलाएकै र उछालपछाल गरेकै भरमा संक्रमितहरुको मन दुख्ने व्यवहार स्थानीयबासिन्दाले गर्न नहुने उहाँले सुझाव दिनु भयो ।

आइसोलेसन आवश्यक सबै पूर्वाधारहरु पूरा हुने गरी काम अघि बढेको बताइएको छ । मनहरी गाउँपालिकामा फ्रन्टलाइनमा रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको ३२ जनाको स्वाब परिक्षणको रिपोर्ट शनिबारसम्म आइपुग्ने अनुमान छ । केही गरी पोजेटिभ देखिएमा तत्कालै आइसोलेसन उपयोगमा आउने अध्यक्ष उप्रेतीले बताउनुभयो । आइसोलेसन वार्डको व्यवस्थापनमा उपाध्यक्ष मनिला बिष्ट, वडाध्यक्ष दिलबहादुर स्याङ्तान, वडा सदस्य पुस्कर सुवेदी, रामप्रसाद ढकालसहितको टोली सक्रिय छ भने स्वास्थ्य टोलीले पनि पूर्ण रुपमा काम गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here