मनहरी–कैलाश गाउँपालिका वडा नं ४ की एक महिलामा कोरोनो पोजेटिभ देखिएपछि कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकामा संक्रमण त्रास फैलिएको छ ।

शुक्रबार कैलाश गाउँपालिका ४ की महिलामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको थियो । कोरोना पुष्टि हुनुअघि ती महिलाले मनहरी बजारको न्यू अन्जु पोलिक्लिनिकमा रगत जाँच गरेको पाइएको छ । रगत जाँच गरेको र हेलमेल गरेको पाइएपछि पोलिक्लिनिकलाई गाउँपालिकाले शनिबार बिहान ‘सिल’ गरेको छ ।

मनहरी बजारको बीचभागमै रहेको न्यू अन्जु पोलिक्लिनिकमा साउन २४ गते ती युवतीको रगत जाँच गरेको पाइएको छ । पोलिक्लिनिकमा साउन २४ गते बिहान आएकी युवतीको रगत जाँच गर्न करिब ४५ मिनेट लागेको पोलिक्लिनिका ल्याबका कर्मचारी पूर्णलाल दराईले बताउनुभयो । ‘रगत जाँच रिपोर्टमा पेटसँग सम्बन्धित ब्याक्टेरिया देखिएपछि एन्टिबायोटिक र ज्वरो नियन्त्रणका औषधी लिएर उहाँ जानु भयो’, दराईले भन्नुभयो–‘पोलिक्लिनिकका बेडहरुमा समेत उहाँ बस्नु भएको छैन ।’
पोलिक्लिनिकबाट फर्केकी बिरामी निको नभएपछि भरतपुरमा उपचारका लागि गएको पाइएको र कोरोना जाँच गर्दा पोजेटिभ देखिएको बताइएको छ । पोलिक्लिनिक आउनुअघि मनहरी ७ प्याङ्चेस्थित आफन्तको घरमा ती महिला बसेको पाइएको छ । ती महिला बसेको र यात्रा गरेका ठाउँहरुको खोजी गरी निगरानी बढाउने र गाउँमा समेत पार्ने काम भइरहेको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो ।

न्यू अन्जु पोलिक्लिनिकका स्वास्थ्यकर्मी र सम्बद्ध कर्मचारीहरुको आइतबार कोरोना जाँच गर्ने प्रक्रिया अघि बढाइने मनहरी गाउँपालिका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here