मनहरी गाउँपालिका ८ सिमपानीस्थित ऐतिहाँसिक महेन्द्रकिरण माध्यमिक विद्यालयका लागि मनहरी गाउँपालिकाले व्यवसायिक भवन निर्माण गरी हस्तान्तरण गरिदिएको छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको महेन्द्रकिरण माध्यमिक विद्यालयको जग्गामा ६ कोठे पक्की भवन गत आर्थिक बर्षको बजेट कार्यान्वयन गरी निर्माण सम्पन्न गरिएको हो । भवनको साउन २५ गते आइतबार मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मातृका ढुंगानालाई आइतबार हस्तान्तरण गर्नु भयो ।

जनश्रमदानसहित कूल ३६ लाख ३६ हजार रुपियाँ लगातमा भवन निर्माण सम्पन्न गरिउको मनहरी गाउँपालिका ८ नं वडाध्यक्ष दिलबहादुर स्याङ्तानले जानकारी दिनुभयो । भवन हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष उप्रेतीले विद्यालयहरुले स्थायी आयस्रोत बृद्धि गरी आफै टिक्ने वातावरण बन्नु जरुरी रहेको बताउनुभयो ।

वडाध्यक्ष दिलबहादुर स्याङ्तानको सभाध्यक्षतामा भएको भवन हस्तान्तरण कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, शिक्षक अभिभावक संघका अध्यक्ष जगन्नाथ अधिकारी, मनहरी बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य प्रकाश बर्ताैला, समाजसेवी रामहरि सुवेदी, निर्माण उपभोक्ता समितिका अध्यक्ष हरि कालाखेती, विद्यालयका प्रधानाध्यापक राधेलाल मण्डल लगायतको सहभागिता थियो ।

पश्चिम मकवानपुरको पहिलो माध्यमिक विद्यालयको रुपमा २०१९ सालमा स्थापना भएको महेन्द्रकिरण माध्यमिक विद्यालयमा हाल ३१ जना शिक्षकहरु रहेका छन् । तीमध्ये ४ जना निजी क्षेत्रबाट रकम संकलन गरी तलब खुवाउनुपर्ने अबस्थाको रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाले जानकारी दिनुभयो । हाल कृषि जेटीए र आइएस्सी एजीको पनि पढाइ भइरहेको विद्यालयलाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले नमूना विद्यालय घोषित गरी भौतिक र शैक्षिक विकासमा योगदान गरिरहेको छ ।

विद्यालयमा १२ सय जना अध्ययनरत रहेका छन् । यो भवनसँगै विद्यालयको अर्काे ४ कोठे व्यवसायिक भवन पनि छ । अब व्यवसायिक भवनको भाडाबाट मात्रै विद्यालयको मासिक ५० हजार आन्तरिक आय बृद्धि हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here