हिउँदमा पुगेका परेवाभीरको बाटो हुँदै यात्रा गरेका बागमती प्रदेश सरकारका मन्त्री र जनप्रतिनिधिहरुको गाडीको लस्कर ।

मनहरी–साउन २७ गते मंगलबार मुख्यमन्त्री डोरमणि पौडेल बागमती प्रदेशभित्र निर्माण भएका ३२ वटा साना पक्की पुलहरुको उद्घाटन गर्दै हुनुहुन्थ्यो । त्यसैबेला अकस्मात उहाँले परेवाभीरमा सडक बन्दैन, बरु वारिपारि बिकल्प खोजिन्छ भन्ने अभिब्यक्ति दिनुभयो ।

बर्षायाममा यसरी यो बाटो भएर दैनिक सयौँ मानिसहरु हिँड्छन् । कैलाश गाउँपालिकाको १, २, ७ र ८ का बासिन्दा र राक्सिराङ गाउँपालिकाको ४ र ९ नं वडाका बासिन्दाको बाध्यता हो यो । हरेक बर्ष यसभीरबाट लडेर मानिसहरुको मृत्यु हुने गर्छ ।

गत बर्षदेखि नै राष्ट्रियस्तरमा चर्चा पाइरहेको परेवाभीरप्रति मुख्यमन्त्री पौडेलको आधिकारिक धारणा आउनासाथ पश्चिम मकवानपुरका स्थानीयबासिन्दाले मात्रै होइन, जनप्रतिनिधिहरु समेत मुख्यमन्त्री पौडेलको कटाक्ष सुरु गरे । परेवाभीरको ‘वारी र पारी’ कहाँ हो भन्दै सोधखोज गर्न थाले । तर दुर्भाग्य परेवाभीर खण्डमा मुख्यमन्त्रीले भनेजस्तो बैकल्पिक रुपमा वारिपारि सडक बनाउने ठाउँ नै छैन । बिकल्प खोज्ने हो भने बाटो निकै घुमाउरो भएर अघि बढ्छ ।

यसरी मुख्यमन्त्रीको धारणा आइसकेपछि बर्षाैदेखि पीडा खपेर बसेका मानिसहरुको आक्रोश एकाएक चुलियो । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका शुभचिन्तक र समर्थकहरु नै यतिखेर मुख्यमन्त्रीप्रति रोष व्यक्त गरिरहेका छन् भने बिपक्षी नेपाली काँग्रेस त खुला रुपमै मुख्यमन्त्रीको विरुद्धमा सामाजिक सञ्जालहरुमा आलोचनामा उत्रेका छन् । यस्तै टिका टिप्पणीका बीच पश्चिम मकवानपुरबाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुईजना सांसद ओमबहादुर ग्लान र सन्तबहादुर चेपाङ तथा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहितका जनप्रतिनिधिहरुबीच बागती प्रदेश सरकारले उपेक्षा गरेपनि परेवाभीर खण्डबाटै सडक बनाइछाड्ने सहमति बनेको छ ।

मनहरी–धादिङ जोड्ने सडक अन्तर्गत संघीय सांसद विरोध खतिवडा, बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ र राक्सिराङ गाउँपालिकाको लगानीमा निर्माणाधीन सडक । परेवाभीरभन्दा माथिको रतुवानजिकको सडक खण्डको दृष्य ।

कसरी बन्छ परेवाभीरमा सडक ?
मनहरीबाट धादिङको मलेखु जोड्ने सडकको कूल लम्बाई ५२ किलोमिटर छ । ५२ किलोमिटरमध्ये राक्सिराङ गाउँपालिकाको क्षेत्रमा १ किलोमिटर मात्रै ट्रयाक खन्न बाँकी छ । र, यी बाँकीमध्ये परेवाभीर खण्ड पर्दछ ।

परेवाभीर खण्डमा पर्ने ४ सय मिटर सडकको ट्रयाककै बिषयमा अहिले विवाद देखिएको हो । तर, बागमती प्रदेश सरकारले भनेजस्तो बनाउनै नसकिने अबस्थामा परेवाभीर खण्ड छैन । राक्सिराङ गाउँपालिकाले परेवाभीर समेटेर ९.५ किलोमिटर सडकको बिस्तृत परियोजना अध्ययन गरेर परेवाभीरमै पुगेका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाललाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा परेवाभीर खण्डमा सेरवाल निर्माण गर्ने र परेवाभीरको तल्लो सतह (हिउँदमा सवारी चल्ने ट्रयाक) लाई ८ मिटर उचाई गरेर बाटो निर्माण गर्ने उल्लेख छ ।

परेवाभीरपारि तर्फ काट्नुपर्ने भनिएको ढिस्को । यो काट्नका लागि करिब १५ लाख रुपियाँ मात्र लाग्ने अनुमान छ ।

त्यसरी पर्खाल उठाउँदा आधुनिक बिधि बमोजिम बलियो रडसहितको कंक्रिटको संरचना बनाइने उल्लेख छ । प्राविधिकहरुले त्यस्तो प्रविधि नेपालका अन्यत्र पनि प्रयोग गरिएको भन्दै सहजै निर्माण गर्न सक्ने दाबी गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउनुहुन्छ ।
परेवाभीरमुनि १५ देखि २० मिटर क्षेत्रलाई त्यसरी सुरक्षित गरी पानीको बहावलाई पूर्वतर्फ बग्नेगरी व्यवस्था गर्ने र परेवाभीरको पारीपटि रहेका केही ढिस्को (डाँडा) काटेर पानी बग्ने भागलाई व्यवस्थित गर्ने सोच प्राविधिकहरुको छ । त्यसो गर्दा उचाईमा सडक हुने र होचो भागबाट मनहरी खोला बग्ने देखिन्छ । प्राविधिकहरुले यस्तो प्रविधि जताततै प्रयोग गरिएको बताउँदै त्रिभूवन राजपथको हेटौँडा–भैँसे सडक खण्ड सम्झन अनुरोध गरेको मल्ल बताउनुहुन्छ । यसरी परेवाभीरमा बलियो ट्रयाक निर्माण सम्पन्न गर्ने बित्तिकै मनहरीदेखि मलेखुसम्म साना गाडीहरु अहिले नै चल्ने अबस्था रहेको छ ।

बर्षायाम अर्थात बर्षको ७५ दिनबाहेक परेवाभीरमुनिबाटै सवारी सञ्चालन हुने बाटो ।

यसै बर्ष यसरी हुन्छ बजेट व्यवस्था
बागमती प्रदेशका सांसद ओमबहादुर ग्लानले परेवाभीरबाटै बाटो बनाउन बजेटका लागि अधिकतम प्रयत्न गर्नुभयो । तर, प्रदेश सरकारले मनहरी–आदमघाट खण्ड भनेर २ करोड २० लाख रुपियाँ बिनियोजन गरिदियो । त्यो बजेट पनि परेवाभीर कटाएर खर्च गर्ने हो कि भन्ने शंका बढ्दो छ । त्यसैले अब संघीय सरकारसमक्ष बजेट मागका लागि जाने तयारी सांसद ग्लानले गर्नु भएको छ । यो काममा राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका तथा धादिङतर्फका अन्य स्थानीय तहहरुले पनि साथ दिने तयारी छ । बागमती प्रदेशभित्रै पनि बजेटका निम्ति पहल र संघर्ष भइरहेको सांसद ग्लानको भनाई छ । यद्यपि निजी क्षेत्रको लगानीमा पनि बाटो निर्माणको तयारी गर्नेबारे छलफल जारी नै रहेको ग्लान बताउनुहुन्छ ।

त्यसो त संघीय सरकार, प्रदेश सरकार वा निजी क्षेत्रको लगानी बिना पनि सडक बनाउन सकिनेमा स्थानीय तह विश्वस्त छ । राक्सिराङ गाउँपालिकाले परेवाभीर खण्डमा सडक बनाउन यसै बर्ष बहुबर्षीय ठेक्का लगाउने तयारी गरेको छ । कूल लागत ४ करोड लाग्ने यो खण्डमा चालू बर्षकै लागि गाउँपालिकाले २ करोड बिनियोजन गरेको छ । अर्काे बर्ष फेरि २ करोड छुट्याउने गरी बहुबर्षीय ठेक्का लगाउने बित्तिकै राक्सिराङ गाउँपालिकाले मात्रै पनि यो खण्डमा सडक निर्माण गर्न सक्ने देखिन्छ । तर, संघ र प्रदेश सरकारको पनि सहायता भए सहज हुने भन्दै सांसद र गाउँपालिका अध्यक्षहरुले संघ र प्रदेश सरकारसँग माग गर्न भने छाडेका छैनन् ।

लकडाउनको समय सदुपयोग गर्दै परेवाभीर खण्डमै पुगेर सडक निर्माणबारे छलफल हुँदै । छलफलमा बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहित ।

परेवाभीरको राजनीति
परेवाभीरमा बाटो बनाउनै हुँदैन भन्ने तर्क परेवाभीरको बाटो हिँड्नै नपर्ने मानिसहरुको छ । उनीहरु परेवाभीरमा ‘बेकारको लगानी’ गर्न हुँदैन भन्ने तर्क राख्छन् । परेवाभीरको बाटो सफल नहुने भएकाले लगानी गर्न नहुने सुझाव प्रदेश सरकारलाई त्यस्ता मान्छेहरुले दिइरहेको र त्यसैको लहैलहैमा मुख्यमन्त्री फसिरहेको अनुमान सांसद र गाउँपालिका अध्यक्षहरुको छ । यसको मूलमर्म चाहिँ राक्सिराङ गाउँपालिकामा काँग्रेसको नेतृत्व रहेकाले बजेट बिनियोजन गर्नुहुँदैन भन्ने चेतले काम गरेको हो कि भन्ने अनुमान छ । यद्यपि परेवाभीरको बाटोको नेतृत्व यतिखेर संसददेखि सडकसम्म सांसद ग्लान (नेकपा)ले गरिरहनु भएको छ भने यसमो होस्टेमा हैँसे अर्का सांसद सन्तबहादुर चेपाङ (काँग्रेस), राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल (काँग्र्रेस) र कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान (नेकपा) ले गरिरहनु भएको छ ।

एकाथरि मान्छेहरु परेवाभीर छल्नका लागि सिमपानी–देवकोट–सरिखेत–लावती–गारगाल हुँदै कैलाश छिचोल्ने बाटोको कल्पना गरिरहेका छन् भने अर्काथरि मानिसहरु मनहरी हुँदै रानीबाङ र पन्जनी हुँदै रतुवातर्फ जोड्ने बाटोको कल्पना गरिरहेका छन् ।

तर, अहिले दुईजना सांसद र दुईजना अध्यक्षले गरिरहेको पहल भने त्यसरी घुमाउरो शाखाजस्तो बाटो नभई राष्ट्रिय राजमार्गकै रुपमा मनहरीबाट धादिङ ५२ किलोमिटरमा पु¥याउने भन्नेमा छ । यसो हुँदा उल्लेखित साना र शाखा बाटोहरु ५२ किलोमिटरको मुख्य राजमार्गमा जोडिनेछन् र पश्चिम मकवानपुरको साबिक काँकडा, राक्सिराङ, खैराङ, भार्ता, डाँडाखर्कसम्मका मानिसहरुको कृषि र पर्यटन विकास भई आर्थिक समृद्धिको यात्रा सुरु हुनेछ भन्ने अपेक्षा गरिएको छ । यद्यपि मनहरीबाट प्याङ्चे हुँदै आँपखोल्सी सडकले यो अभियानलाई साथ दिनेछैन । यसका लागि मनहरी ८ को बेलुवा पुलछेउबाट गणेशधारा हुँदै बसढुंगा र आँपखोल्सी जोड्ने पुल निर्माण अत्यावश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here