मनहरी–बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान (प्रदीप) ले मुख्यमन्त्रीको राजीनामा मागिएको वा अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने बिषय आफ्नो बिषय नरहेको स्पष्ट पार्नु भएको छ ।

आफ्नो प्रमुख बिषय भनेको परेवाभीर सडक निर्माणको कुरा नै रहेको भन्दै उक्त बिषयलाई गौण राखेर मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने वा राजीनामा माग्ने बिषय हुँदै नभएको उहाँको भनाई थियो । मनहरी लाइभसँग कुराकानी गर्दै उहाँले भन्नुभयो–‘बुधवार मुख्यमन्त्री डोरमणि पौडेलले परेवाभीरको बाटो नबन्ने बताउनु भएको रहेछ, मैले त्यसबारेमा केही प्रतिक्रिया दिएको हुँ ।’

‘तपाईको प्रतिक्रिया त प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्मको रहेछ नि ?’ भन्ने प्रश्नको जबाफमा सांसद ग्लानले भन्नुभयो–‘कुरो त्यसो होइन, म एक्लैले चाहेर वा बोलेर हुने बिषय पनि होइन । यो समग्र पार्टीको बिषय हो । पार्टी पनि केन्द्रीय नेतृत्वको बिषय हो । यस्तै पाराले अघि बढ्ने हो भने जनताले मुख्यमन्त्रीको राजीनामा समेत माग्न थाल्नेछन् भन्ने मेरो आशय हो ।’

राक्सिराङ गाउँपालिका वडा नं ४ मा पर्ने परेवाभीर खण्डमा सडक निर्माणका लागि पहल गर्दै आइरहनु भएका सांसद ग्लानले सदनमै परेवाभीरबाट मान्छे मरेमा बुद्धचोकमा ल्याएर दाहसंस्कार गर्ने धम्की दिनु भएको थियो । त्यसैगरी राक्सिराङ गाउँपालिकाले पनि परेवाभीर सडक खण्ड निर्माणका लागि जोड दिँदै आएको छ ।

अहिले प्रदेश सरकारले मनहरी आदमघाट खण्ड भनेर २ करोड रुपियाँ बजेट बिनियोजन गरेको छ । तर, उक्त बजेट परेवाभीर खण्डमा खर्च हुन्छ वा हुँदैन भन्ने दोधार भइरहँदा मुख्यमन्त्रीले परेवाभीरमा बाटो नबन्ने सार्बजनिक रुपमै अभिब्यक्ति दिएपछि यतिखेर राक्सिराङ, कैलाश क्षेत्रका बासिन्दा आक्रोशित भएका छन् ।

सांसद ग्लान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहितका जनप्रतिनिधिहरु मनहरीबाट आदमघाट जोड्ने ५२ किलोमिटर मुल सडक निर्माण हुनुपर्ने र उक्त खण्ड परेवाभीरबाटै हुनुपर्ने अडानमा रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here