परेवाभीर

–माननीय ओमबहादुर ग्लान (प्रदीप)

परेवाभीर,
शब्द,कति कर्णप्रिय लाग्छ
मधुर आवाजमा सम्बोधन गरौँ झैं लाग्छ
परेवाभीर …
मेरो शान्तिको प्रतिक परेवाको बासस्थान भएकोले ।

कल्पनाको सागरमा डुब्न थाल्छ नि जब मान्छे
सुन्दर प्राकृतिक छटाले भरिपूर्ण संसार होला झैं लाग्छ
तिम्रो कृतिम आधुनिक शहरबाट
प्रकृतिका कठिनाइहरूसँग जुधिरहेका
भुइँ मान्छेको पीडा अलग्याएर,
बाजहरुका सन्तानका निम्ति
म प्राकृतिक सुन्दरता जोगाईरहेका
डलरापेक्षी देशको
एउटा बबुरो मान्छेहरुको भीडमा
म पनि पीडा भरेर बाँचिरहेछु ।

त्यो प्राकृतिक कठिनाई पनि
बाजबाट बच्न परेवाको लागि
तोराबोरा हो परेवाभीर
तर हाम्रो लागि ज्यानमारा भीर ।

हो, त्यही ज्यानमाराभीरमा
म मेरो शान्तिको प्रतिक परेवा नियाल्दै
धेरै पटक वारपार गरेको छु
कहिले नुन भुटुन बोकेर
कहिले विकासे सरदामहरु बोकेर
कोदो मकैको जाँड र गुन्द्रुकको सितनको भरमा ।

मैले आँखा अगाडि मेरो आफन्त छोप्दा छोप्दै गुमाएको छु
हात समातेर हिँड्दा हिँड्दै पनि छुटेका छन्
मैले पनि
माथिबाट बर्सिएका तिखा ढुङ्गाहरू धेरै छलेको छु
झण्डै लडेका पल बेहिसाब छन् ।

साँच्चै त्यो छंगाछुर भीरमा
प्राकृतिक रूपमा बनेका खोपिल्टो बाहेक
सहारा केही छैन
ढाटेको भए मरी जाउँ
एकपटक बर्खे मौसमको बैश चढेको बेला
सवारी होस् महाशयको
कृपया एकपटक पाउ कष्ट गरौँ
तिमीले कल्पिएका प्राकृतिक सुन्दरता भित्र
कुन पीडा लुकाएर हाँसिरहेको छौँ हामी
छर्लङ्ग देख्नु हुन्छ
हामीलाई मृत्युले कसरी गिज्याइरहेको छ
थाहा पाउनु हुन्छ
हामीले मृत्युलाई कसरी जितिरहेका छौँ
बकाईदा प्रमाण भेटाउनु हुन्छ ।

आउन महोदय विचरण गर्न
मेरो पुर्खाले ढुङ्गे युग देखि हिँडेको बाटो हो त्यो
विभिन्न काल र व्यवस्था गुजारी सकेको चट्टाने भीर हो
यो २१ औँ शताब्दीमा हामी जित्न सक्छौँ त्यसलाई
बस प्रण गरौँ
अब हामी
मानवीय समवेदना गुमाउँदैनौं
परेवाभीरमा लाश जन्माउँदैनौं ।

२०७७/०३/१६
हेटौँडा,मकवानपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here