Child marriage. Illustration: Ratna Sagar Shrestha

राक्सिराङ–राक्सिराङ गाउँपालिका ८ मा भएको बाल विवाह जनप्रतिनिधिहरुको सहजीकरणमा बदर गरिएको छ । उमेरै नपुगी विवाह गरेका एक जोडीलाई राक्सिराङ गाउँपालिका ८ नं वडाका अध्यक्ष रामकृष्ण प्रजा तथा अन्य जनप्रतिनिधिहरुको सहजीकरणपछि बदर गरिएको हो ।

राक्सिराङ गाउँपालिका वडा नं ८ सानो टोड्केकी एक किशोरीको सोही वडाको पाम्बुङमा भागी विवाह भएको बताइएको छ । असार ९ गते भागी विवाह गरेका १८ बर्षीय किशोर र १७ बर्षीया किशोरीलाई छुटाएर अभिभावकको जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

८ नं वडाध्यक्ष रामकृष्ण प्रजाले किशोर र किशोरीको परिवारसँग छलफल गरी बाल विवाहलाई बदर गरिएको जानकारी दिनुभयो । ‘कानून बिपरित विवाह भएको थाहा पाएपछि किशोर किशोरीका बाबुआमालाई सम्झाएर उमेर पुगेपछि मात्रै विवाह गर्ने कुरामा राजी गरायौँ’, वडाध्यक्ष रामकृष्णले भन्नुभयो ।

राक्सिराङ गाउँपालिकाको अधिकाँश चेपाङ बस्तीमा कम उमेरमै विवाह गर्ने चलन रहेको छ । बार्षिक दर्जनौँ जोडीहरु २० बर्ष नपुग्दै विवाह बन्धनमा बाँधिने गरेको र कक्षा ९ र १० को अध्ययन नै प्रभावित हुनेगरेको विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् ।

यसैबीच बाल बालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुका लागि बाल विवाह एउटा चुनौति बनेको छ । बाल विवाह न्यूनिकरणका लागि अभिभावकहरुलाई सचेत पार्ने अधिकतम प्रयासहरुलाई बेला बेलामा सार्बजनिक हुने बाल विवाहका घटनाले लज्जित बनाउने गरेको राक्सिराङ गाउँपालिकामा क्रियाशील गैरसरकारी संस्था लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालले जनाएको छ ।

संस्थाले विभिन्न दिवसहरु तथा उत्सवहरुका अबसरमा समेत बाल विवाह न्यूनिकरणका लागि अनुशिक्षण तथा सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको छ । मानिसहरु जम्मा हुने स्थानमा बाल विवाह गर्नेलाई कानूनी कारबाहीको व्यवस्था समेटिएका सामग्रीहरु पनि होडिङ बोर्डमा लेखेर राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here