राक्सिरा–आगामी आर्थिक बर्ष २०७७/७८ मा राक्सिराङ गाउँपालिको आफ्ना जनतालाई राष्ट्रिय प्रसारण लाइनको पहुँच बिस्तार गर्ने नीति लिएको छ ।
यसका लागि गाउँपालिकाले चेपाङलाई बिजुली कार्यक्रम र उज्यालो गाउँपालिका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सातौ गाउँसभामा पेस गर्नु भएको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार ‘बैकल्पिल्कि उर्जालाई समेत प्रवद्र्धन गर्दै गाउँपालिकाभित्रका हरेक घरधुरीलाई राष्ट्रिय विद्युतीकरण अन्तर्गत विद्युत सेवामा पहुँच स्थापित गर्न ‘चेपाङलाई विजुली’ कार्यक्रम सञ्चालन गरिनेछ’ भन्ने उल्लेख छ ।
त्यसैगरी मुख्य–मुख्य सडक एवं सहरोन्मुख क्षेत्रका सडकहरुमा क्रमशः सडक बत्ती जडान गरी ‘उज्यालो गाउँपालिका’ कार्यक्रम तर्जुमा एवं कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
अघिल्लो आर्थिक बर्षदेखि नै हरेक वडासम्म पुग्ने गरी राष्ट्रिय प्रसारण लाइन बिस्तारको काम थालिएकाले पूर्णता दिनेगरी आगामी आर्थिक बर्षबाट काम सुरु हुने गाउँपालिकाले जनाएको छ । राष्ट्रिय प्रसारण लाइनले नभेटेको क्षेत्रहरुमा बैकल्पिक उर्जा उपभोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बिजुली बिस्तारको काम सम्पन्न भएपछि राप्ती नगरपालिकाको चारखाल भिमबुङसम्म, च्यात्रे हुँदै कैलाशको बैकुण्ठसम्मको रञ्जुमार्ग र केबुलकार निर्माणका लागि सम्भाब्यता अध्ययन गरिने नीति तथा कार्यक्रमको ३० नं बुँदामा उल्लेख छ ।
गाउँपालिको हरेक नागरिकको सरसफाईलाई ध्यानमा राखी ‘एक घर एक धारा’ को नीति अबलम्बन गरेको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट राक्सिराङ गाउँपालिका प्रशासनिक भवनसम्म जोड्ने बाटो निर्माण गर्न तथा एक वडाः एक मुल सडक निर्माणका लागि गाउँपालिकाले प्राथमिकता दिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
आगामी आर्थिक बर्षका लागि राक्सिराङ गाउँपालिकाले ५१ करोड १५ लाख २० हजार बराबरको बजेट सार्बजनिक गरेको छ । उपाध्यक्ष निर्मला हिमडुङले प्रस्तुत गर्नु भएको बजेट बक्तब्यका अनुसार गाउँपालिकाको आन्तरिक राजस्व आम्दानी ३ करोड ३२ लाख हुनेछ ।