सातौ गाउँपरिषदमा नीति तथा कार्यक्रममा छलफल हुँदै ।

मनहरी–आर्थिक बर्ष २०७७\७८ का लागि मनहरी गाउँपालिकाले सार्बजनिक गरेको नीति तथा कार्यक्रममा भूमि बैँक स्थापना गर्ने बिषयलाई प्राथमिकता दिइएको छ ।

कोभिड १९ का कारण विदेशबाट फर्केका युवाहरुलाई कृषि कर्मममा लगाउनका लागि सामूहिक खेतीतर्फ आकर्षण गराउने लक्ष्य गाउँपालिकाले लिएको छ । गाउँपालिका एक वडा एक अर्गानिक खेतीको अबधारणालाई समेत अघि सारेको छ । उपाध्यक्ष मनिला बिष्टले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार भूमि बैँक स्थापना गरी सार्बजनिक, पर्ती जग्गाहरुको संरक्षण र उपयोगको नीतिलाई अघि सारिएको छ ।

यसअघिदेखि नै गाउँपालिकाले सार्बजनिक जग्गा संरक्षणका लागि उपाध्यक्ष मनिला बिष्टको संयोजकत्वमा समिति बनाई अनुगमन गरिरहेको छ ।
संघीय सरकारले समेत भूमि बैँक स्थापना गरी पर्याप्त उत्पादनमुखी कार्यलाई अघि बढाउने नीति अख्तियार गरिरहँदा मनहरी गाउँपालिकाले भूमि बैँक बनाउने नीतिगत निर्णय अघि सारेको हो । गाउँपालिकाका अनुसार पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा १५ सय बिगाहभन्दा बढी सार्बजनिक, पर्ती जग्गा नदी उकासको रुपमा निस्केको छ ।

उक्त जग्गालाई कृषि तथा पर्यटनमा लगाउने योजना गाउँपालिकाको छ । युवाहरुले कृषि फर्म बनाएर व्यवस्थित कृषि प्रणालीमा आधारित रही काम गर्न चाहेमा आर्थिक ऐनले व्यवस्था गरे अनुसार भाडामा लगाउने योजना गाउँपालिकाको रहेको छ ।

गाउँपालिकाले कृषि, पर्यटन, भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक परिचालन, खेलकुद, युवा, बालबालिका, महिला लगायत समग्र क्षेत्रको विकासका लागि ७६ करोड ३५ लाख १६ हजार ४ सय २० रुपियाँ बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । जसमा चालू खर्च ४१.४३ र पुँजीगत (विकास बजेट) ५८.५७ प्रतिशत रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here