विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण गरिएको बन्दाबन्दीको प्रत्यक्ष असर मानिसको प्रजनन् स्वास्थ्यमा पनि परेको छ । नेपालमा सुरु भएको बन्दाबन्दीको लामो अबधिमा मानिसका प्रजनन् स्वास्थ्य असामान्य ढंगले चलिरहेको र जोखिम बढिरहेको सहजै अनुमान गर्न सकिन्छ । अनिच्छित गर्भाधारण, परिवार नियोजनका साधनहरुको अभाव तथा अकस्मात आइपरेका प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याको निराकरण गर्ने बाटो पहिल्याउन नसक्दा कतिपय मानिसहरु मानसिक तनावमा पनि हुने गर्छन् ।

असुरक्षित गर्भपतनको बाटो समाएर ज्यान जोखिममा पार्ने महिलाहरुका कारुणिक कथाहरु पनि बेला बेलामा सुन्न पाइन्छ । कोरोना भाइरसका कारण सरकारी तथा गैरसरकारी तहबाट हुने सबैखाले परामर्शमुलक कार्यक्रमहरु, साधनहरुको उपलब्धतामा कमी आइरहेको अहिलेको अबस्थामा पनि मकवानपुरको मनहरी गाउँपालिकामा महिला बालबालिका तथा वातावरण सुधार केन्द्र (वोचिन्ड) ले आइपास नेपालको सहयोगमा सुरक्षित गर्भपतनसम्बन्धी परामर्श तथा निगरानीलाई बलियो बनाएर सुचारु गरिएको पाइएको छ ।

मनहरी गाउँपालिकाका दुर्गम गाउँहरुमा रहेका महिलाहरुलाई लक्षित गरी यसअघि गरिएका विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरुको प्रभाव बन्दाबन्दीमा देखिन थालेका छन् । बन्दाबन्दीका बेला हुने अनिच्छित गर्भधारणबाट तनाव खेपिरहेका महिलाहरु खुलेर स्वास्थ्यकर्मीकहाँ आएर आफ्ना समस्या राख्ने गरेको मनहरी गाउँपालिकाका स्वास्थ्यकर्मीहरु बताउछन् ।

स्वास्थ्य संस्थामै भरपर्दाे र विश्वसनीय गर्भपतन सेवा र उचित परामर्श पाइनेबारे वोचिन्ड र आइपास नेपालले महिलाका समूहहरुमा अन्तरक्रिया गरेको थियो । मनहरी गाउँपालिका ४ मुसेधापस्थित अति सीमान्तकृत बनकरिया बस्तीसहित अधिकाँश जनजाति र दलित समुदायको घरपरिवार रहेका गाउँहरुमा वोचिन्ड र आइपास नेपालको सहकार्यमा महिलाहरुका निम्ति सुरक्षित गर्भपतन सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु सञ्चालनपछि महिलाहरुमा सुरक्षित गर्भपतन महिलाको अधिकार भएको भन्ने आभास हुनेगरेको पाइएको वोचिन्डकी कार्यक्रम अधिकृत सुप्रिमा सापकोटा बताउनुहुन्छ ।

त्यसो त मनहरी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरुमा नियमित रुपमा अनुगमन गर्ने, प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरुको पहिचान गर्ने, समस्याको समाधानमा पनि ध्यान दिने गरी संयन्त्रको निर्माण भएको छ । मनहरी गाउँपालिका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले बिगतका दिनहरुमाभन्दा अहिले प्रजनन् स्वास्थ्य र असुरक्षित गर्भपतनका सम्बन्धमा महिलाहरु सचेत भएको बताउनुभयो । ‘सरकारको कार्यक्रम त छँदैछ, गैरसरकारी तहबाट पनि असुरक्षित गर्भपतन, परिवार नियोजन लगायतका बिषयमा परामर्शहरु हुन थालेपछि महिलाहरु सचेत भएर व्यवहार गर्न थालेको पाइन्छ’, स्वास्थ्य संयोजक अधिकारी भन्नुहुन्छ ।

वोचिन्ड र आइपासको सहकार्यमा मनहरीसहित विभिन्न स्थानीय तहमा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सेवाका बारेमा बहस र पैरवी पनि गरिरहेको छ । पछिल्ला समय सुरक्षित गर्भपतनका लागि सुचिकृत स्वास्थ्य संस्थामा आउने महिलाहरुले सुरक्षित गर्भपतन सेवालाई महिला अधिकारसँग जोडेर आउने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘बिगतमा लाज र असजिलो महसुस गर्नेगरेका महिलाहरुले अचेल सुरक्षित गर्भपतन सेवा लिनका लागि खुला दिलले आउँछन्’, स्वास्थ्य संयोजक टिकाराम अधिकारी भन्नुहुन्छ ।

उहाँका अनुसार लक डाउनका बेला पनि संस्थाका तर्फबाट सुरक्षित ढंगले सेवा प्रवाहका लागि परामर्श र स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको थियो । ‘मनहरी गाउँपालिकाका दुर्गम ठानिएका र अल्पसंख्यक (बनकरिया) बस्तीहरुमा समेत सुरक्षित गर्भपतन सेवाका बारेमा छलफल र पैरवीहरु भएका्’, संयोजक अधिकारी भन्नुहुन्छ–‘स्थानीय तहसँग साझेदार संस्थाको रुपमा समन्वयमै काम भइरहेकाले सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्या बढ्दो क्रममा छ भने परिवार नियोजनका साधनहरुको खपत पनि बढ्दो छ ।’ सुरक्षित गर्भपतन गर्न आउने महिलाहरुलाई अनिबार्य परिवार नियोजनका साधनहरुको उपयोगका लागि संस्थाको तर्फबाट सहजीकरण हुने गरेको छ ।

स्वास्थ्य संयोजक अधिकारीका अनुसार कोभिड १९ को प्रकोपका बेला पनि मनहरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखी काम गरिरहेको छ । यसका लागि स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा सेवा प्रदान गर्नेगरी व्यवस्थापन गरेको थियो । मनहरी गाउँपालिका वडा नं ७ मा रहेको मनहरी प्राथमिक सेवा केन्द्रमा ज्वरो जाँच केन्द्र स्थापना गरी सुरु गरिएको सेवा प्रबाहको क्रम स्वास्थ्यकर्मीहरुलाई आवासीय र अतिरिक्त सुविधा प्रदान गर्नेसम्म गरिएको छ । कोभिड १९ को प्रकोपका बेला पनि सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्यका बारेमा आम मानिसहरुको भावना र सेवा प्रबाहका कमी नआओस् भन्नका लागि स्वास्थ्यकर्मीहरुलाई सचेत पारिएको स्वास्थ्य संयोजक अधिकारीले बताउनुभयो ।

स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर गाउँपालिकाले पहिलो चरणमा १५ जना स्वास्थ्यकर्मीलाई छुट्टै आवासीय व्यवस्था गरेको छ । पछि यो संख्या बढेको छ । क्वारेन्टिन निर्माण गरेर विदेशबाट आएका मानिसहरुलाई खानेबस्ने सुविधासहित व्यवस्थापन पनि गरिएको छ ।
बन्दाबन्दीका कारण मानिसहरुको दैनिकीमा पनि परिवर्तनहरु आएको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट बताउनुहुन्छ । उहाँका अनुसार महिला हिंसाका घटनाहरु विभिन्न रुपले प्रकट हुनेगरेका छन् । ती घटनाहरु यौन तथा प्रजनन् स्वास्थ्यसँग पनि जोडिने गरेका छन् । त्यस्ता समस्याहरु आउँदा गाउँपालिकाले निर्माण गरेको सेफ हाउसमा पीडितहरुलाई सुरक्षित राख्ने काम गरिएको उहाँले बताउनुभयो । ‘वोचिन्ड र आइपासजस्तै गैरसरकारी संस्थाहरु र सरकारी तहबाट गरिएको बहस र पैरवीहरुले यौन, प्रजनन् स्वास्थ्य, सुरक्षित गर्भपतनजस्ता बिषयसहित हिंसापीडितहरुलाई न्यायका लागि सम्बन्धित ठाउँमा पुग्नुपर्छ भन्ने मान्यताको विकास भएको पाएको छु’, उपाध्यक्ष बिष्ट भन्नुहुन्छ–‘तर मानिसहरुको जागरणको अबस्था दर भने अझै बढ्नु र बढाउनुपर्ने आवश्यकता छ ।’

कोरोना संक्रमणका विरुद्ध लडिरहँदा पनि मनहरीका स्वास्थ्य संस्थाहरुले पछिल्ला समयमा नियमित खोप सेवालाई निरन्तरता दिएको छ । मनहरीमा प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवाको व्यवस्था छ । यस्तो अबस्थामा पनि मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन गर्नेको संख्यामा बृद्धि भएको पाइएको छ । यसको प्रमुख कारणको रुपमा सुरक्षित गर्भपतनसम्बन्धी उत्प्रेरणा र सचेततालाई नै लिन सकिन्छ । गाउँपालिकाभित्र रहेका जनप्रतिनिधिहरुले पनि सुरक्षित गर्भपतन सेवाबारे स्थानीय मानिसहरुलाई जानकारी दिने गरेका छन् । गाउँपालिकाको कार्यपालिका सदस्यका लागि वोचिन्ड र आइपास नेपालले गरेको अन्तरक्रियात्मक कार्यक्रमबाट पनि सुरक्षित गर्भपतन सेवा र परिवार नियोजन सेवाबारेका सन्देश तल्लो तहसम्म पुगेको पाइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र मनहरीका प्रमुख डाक्टर शरद दाहालका अनुसार चालू आर्थिक बर्षको मंसीर महिनामा २० जना, पुसमा २४ जना, माघमा २३, फागुनमा २३, चैतमा ३४ र बैशाखमा ४२ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । बन्दाबन्दीमा पनि यो सेवा निरन्तर चलिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रले बैशाख महिनामा ६७ जनालाई परिवार नियोजन सेवा, २८ जनाको गर्भजाँच र ६६ जनाको आरडिटी बिधिबाट कोरोना जाँच गरेको जनाएको छ ।

समग्रमा स्थानीय सरकारले गरेका प्रयासहरु सकारात्मक देखिएका छन् । माथिल्ला निकाय अर्थात संघीय र प्रादेशिक सांसदहरु, जिल्ला समन्वय समिति लगायतको अनुगमनमा पनि मनहरी गाउँपालिकाले क्वारेन्टिन निर्माण, विदेशबाट नागरिकको उद्धार, स्वास्थ्यकर्मीको परिचालन, बन्दाबन्दीमा नागरिकलाई बितरण गरिएको राहत लगायतका कार्यक्रमहरु उदाहरणीय रहेको प्रतिक्रिया दिने गरेका छन् । ‘हामीले बलबुताले भ्याएजति काम गरेका छौँ’, अध्यक्ष एकराज उप्रेतीले भन्नुभयो ।

-शिवकुमार काशी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here