मनहरी–आगामी बर्षदेखि तीन सय शैयाको अस्पताल चलाउने गरी तयारी थालिएको हेटौँडा अस्पताललाई ५० थान बेडसहितको सेट हस्तान्तरण गरिएको छ ।

एपेन्डिक्सको उपचारका लागि भर्ना भएकी बालिका सविना स्याङ्तानसँग गफ गर्दै लिसा हिमालय इ.भी. जर्मनीकी अध्यक्ष डानिला ।

लामो समयदेखि मकवानपुरमा कार्यक्षेत्र बनाएर काम गरिरहेको जर्मनीस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालले १८ लाख ३७ हजार रुपियाँ बराबरका शैयाहरु र आवश्यक सेटका सामग्रीहरु हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका सामग्रीहरुमा ५० थान बेड, ५० थान बेड क्याटरेस्ट, ५० थान सिरानी, १०० थान सिरानीको खोल, १०० थान तन्ना, ५० थान बेडसाइड लकर, ५० थान बेडसाइड स्टुल र ५० थान आइभी स्ट्यान्ड रहेका छन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गैरसरकारी क्षेत्रबाट प्राप्त सहयोग सानोजस्तो देखिएपनि यसको महत्व धेरै भएको बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारले ३ सय शैयाको अस्पताल बनाउने कसरत गरिरहेका बेला प्राप्त भएका बेडहरुले बिरामीका लागि निकै सजिलो बनाएको बताउनुभयो ।

कार्यक्रममा हेटौँडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले सामग्री भित्रनु भन्दाभन्दा पनि विदेशी पाहूनाहरु र प्रदेश सरकार नै अस्पतालमा पस्नु शौभाग्य भएको टिप्पणी गर्नुभयो । दातृ निकायका तर्फबा बोल्दै लिसा हिमालय इभी जर्मनीका अध्यक्ष डानिला झारिङले आफू १० बर्षदेखि मकवानपुरका गरिब बस्तीमा रहेर काम गरिरहेको सुनाउँदै सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा इभीका नेपाल प्रमुख स्टेफेन स्कुली, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, दीगो विकासका लागि एकता नेपालका अध्यक्ष अच्युतप्रसाद पौडेल, हिमालय इभीका कार्यक्रम निर्देशक अन्जनप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

यसैबीच दातृ निकाय हिमालय इभी जर्मनीका अध्यक्ष डानिला झारिङसहितको टोलीले हेटौँडा अस्पतालको अबलोकन गर्नु भएको छ । अवलोकनका क्रममा अध्यक्ष झारिङले अस्पतालमा उपचाररत बकैया गाउँपालिका ९ शिखरपुरकी १० बर्षीया सबिना स्याङ्तानको उपचार निःशुल्क गरिदिने घोषणा गर्नुभएको छ । एपेन्डिक्स भएर शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना गरिएकी सबिना आर्थिक अभावमा उपचारमा समस्या भइरहेकाले सहयोग गरिएको लिसा हिमालय इभीका कार्यक्रम निर्देशक अन्जन प्रसाद पौडेलले बताउनुभयो । सबिनाकी बुवा बैदेशिक रोजगारीका लागि मलेसियामा रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here