मनहरी–पूर्व पश्चिम राजमार्गको मनहरी बजारस्थित मनकामना मन्दिर परिसरको पर्यापर्यटन विकासलाई समेत ध्यान दिएर संघीय सरकारले बजेट बिनियोजन गरेको छ ।

प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाको पहलमा मनकामना मन्दिर परिसरमा विभिन्न कामहरु सम्पन्न गर्नका लागि ४० लाख रुपियाँ बिनियोजन भएको हो ।

राष्ट्रिय योजना आयोगको रातो कितावमै उल्लेख भएर रकम आउने निश्चित भएको सांसद खतिवडाले बताउनुभयो । उहाँका अनुसार मनकामना मन्दिर परिसरमा रहेको रानीपोखरी निर्माणका लागि १५ लाख, मन्दिरपरिसरमा हरित पार्क निर्माणका लागि २० लाख र मन्दिर मर्मत सम्भार र सुधारका लागि ५ लाख रुपियाँ बिनियोजन गरिएको हो ।

आगामी आर्थिक बर्षका लागि बजेट बिनियोजनसँगै मनहरी गाउँपालिकाले बनाएको डिपिआर बमोजिम कामहरु सुचारु हुने मनकामना सनातन धर्म संरक्षण समितिका सचिव गोविन्दप्रसाद पौडेलले बताउनुभयो ।

झण्डै ३ बिगाह जग्गा रहेको मनकामना मन्दिर परिसरको मनहरी गाउँपालिकाको लगानीमा कम्पाउण्ड निर्माण कार्य सकिएको छ । अब आन्तरिक रुपमा विभिन्न संरचनाहरु निर्माण गर्न बाँकी छ । ऐतिहाँसिक मनकामना मन्दिरको जीर्णाद्धार र त्यहाँ रहेको पोखरीको व्यवस्थापन गरेसँगै मनकामना मन्दिर परिसर पर्यटकीय क्षेत्रको रुपमा विकास हुने मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here