विद्यालय भवनमा स्थापना गरिएको कैलाश गाउँपालिकाको नयाँ कार्यालय ।

कैलाश–आगलागीका कारण प्रशासनिक भवन ध्वस्त भएपछि कैलाश गाउँपालिकाले स्थानीय विद्यालयको भवनबाट सेवा सुचारु गरेको छ ।

स्थानीय भवानी माध्यमिक विद्यालयको भवनबाट दैनिक प्रशासनिक कार्य सुचारु गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । गत जेठ १५ गते कैलाश गाउँपालिका ३ कालिकाटारस्थित प्रशासनिक भवनमा आगलागी हुँदा १८ कोठे भवनसहित सबै भौतिक सामग्री जलेर नष्ट भएको थियो ।

अर्काे बिकल्प नभएसम्मका लागि विद्यालय भवनबाटै दैनिक प्रशासनिक सेवा सुचारु गरिने गाउँपालिकाले जनाएको छ । आगलागीपछि सम्पन्न कार्यपालिकाको बैठकले हालका लागि विद्यालयबाट प्रशासनिक सेवा र नजिकै रहेको वडा नं ३ को कार्यालयबाट अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष निर्माण गर्ने निर्णय गरेको थियो । सोही बैठकले तत्कालै ३५ लाख खर्चेर नयाँ अस्थायी टहरो निर्माण थाल्ने निर्णय समेत गरेको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले जानकारी दिनुभयो ।

चट्याङका कारण सोलार सिस्टममा समस्या आएपछि विद्युतीय सटका कारण आगलागी भएको प्रारम्भिक अनुमान छ । कार्यालय जल्दा ४ करोडको क्षति भएको अनुमान गरिएको छ । कार्यालयमा भएको आगलागीका सम्बन्धमा उपाध्यक्ष सुकुमाया थिङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भई छानबीन थालिएको गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here