मनहरी–लक डाउनका बीच पनि नदीजन्य बस्तुको उत्खनन् गर्न दिने जिल्ला कमाण्ड पोष्टको निर्णय बमोजिम मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार बाँकी रहेको नदीजन्यबस्तुको उत्खनन् सुरु गरेको छ ।

कमाण्ड पोष्टको निर्णय भएको केही दिनमै उत्खनन् सुरु गरिएको राक्सिराङ गाउँपालिकामा भने स्थानीयको दबाबपछि उत्खनन् बन्द भएको छ । मनहरी र राक्सिराङ दुबै गाउँपालिकाले राक्सिराङ ५ र मनहरी ८ र ९ नं वडामा रहेका ढेडदर्जन बढी क्रसर उद्योगहरुमा नदीजन्य बस्तुको उत्खनन् गरी बिक्रीको प्रवन्ध मिलाउँदै आएको थियो । दुबै गाउँपालिकाले उत्पादित बस्तुको चितवन निकासी गर्नेगरेका छन् ।

मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिम चालू आर्थिक बर्षमा २ लाख ६० हजार ४ सय घनमिटर नदीजन्य बस्तुको उत्खनन् गर्न पाउँछ । लकडाउन अघिसम्म गरिएको उत्खनन्पछि पनि अझै १ लाख ३१ हजार घनमिटर नदीजन्य बस्तु उत्खनन् गर्न बाँकी रहेकाले पुनः उत्खनन् सुरु गरिएको राजश्व शाखा प्रमुख राजेन्द्र चौलागाईले बताउनुभयो । केही दिनअघि बसेको गाउँपालिकास्तरीय अनुगमन समिति बैठकले बाँकी रहेको नदीजन्य बस्तुको उत्खनन् विधि र प्रक्रिया अनुसार नै अघि बढाउने निर्णय गरेको थियो ।

तर, अहिले उत्खनन् गरिएका नदीजन्य बस्तु आगामाी आर्थिक बर्षमा मात्रै प्रशोधन गरी बिक्री बितरण गर्न पाइनेगरी विभिन्न क्रसर उद्योगहरुमै ‘डम्पिङ’ गरिराख्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । निकासी ठेक्का पाएको सिबि कन्ट्रक्सनलाई उपलब्ध गराउनुपर्ने परिमाणको नदीजन्य बस्तु लगभग सबै उत्खनन् भइसकेकाले बाँकी परिमाणको नदीजन्य बस्तु आगामी आर्थिक बर्षमा ठेक्का प्रक्रिया वा अमानतमा उठाउनका लागि स्टक राखिएको हो ।

यता मनहरी खोला बगरमा नदीजन्य बस्तुको उत्खनन् र निकासी गरिरहेको राक्सिराङ गाउँपालिकामा भने उत्खनन् स्थगन भएको छ ।

संविधानसभा सदस्य समेत रहेको पूर्व सांसद गोविन्दराम चेपाङसहितका स्थानीयले चर्काे दबाब दिएपछि जिल्ला अनुगमन समितिले उत्खनन् बन्द गर्न गाउँपालिकालाई निर्देशन दिएको हो । उत्खनन् बैज्ञानिक ढंगको नभएको र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बिपरित उत्खनन् गरिएको आरोप सांसद चेपाङले लगाउनु भएको छ ।

सोही बमोजिम समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसहितको टोलीले जेठ १६ गते शुक्रबार उत्खनन्को अनुगमन गर्नु भएको थियो । अनुगमनपछि तत्कालका लागि उत्खनन् रोक्न निर्देशन दिँदै तत्कालै उत्खनन् भएका क्षेत्रको प्राविधिक मापन गरेर मात्रै अर्काे निर्णयमा पुग्ने निर्णय जिल्ला अनुगमन समितिले गरेको डिभिजनल वन कार्यालय राप्ती मनहरीका प्रमुख दीर्घनारायण कोइरालाले बताउनुभयो ।

यता राक्सिराङ गाउँपालिकामा भएको उत्खनन् बैधानिक र सही ढंगले भएको दाबी गाउँपालिकाले गरेको छ । ठेक्का लगाएको उत्खनन् र निकासी लक डाउनका कारण लामो समयदेखि रोकिएपछि पुनः सुचारु गर्दा राजश्व बृद्धि हुने र ठेकेदारलाई थप रकम भुक्तानी गर्न नपर्ने भएकाले बैधानिक ढंगले नै उत्खनन् सुचारी गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । उत्खनन् अबरोध गरेर राजश्व प्रभावित गर्नेगरी राजनीति नगर्न मल्लले सम्बद्धसँग आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here