मनहरी ३ लामिटारस्थित सभाहलमा निर्मित क्वारेन्टाइन ।

मनहरी–कोरोना संक्रमण रोक्नका लागि शंकास्पद व्यक्तिहरुलाई सुरक्षित ढंगले क्वारेन्टाइनमा राख्नका लागि मनहरी गाउँपालिकाले प्रभावकारी कदम चाल्ने भएको छ ।

मनहरी गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले पाँच स्थानमा क्वारेन्टाइन बनाउने निर्णय गरेको हो । अहिले सञ्चालनमा रहेको वडा नं ३ लामिटारस्थित सभाहलमा निर्माण भएको क्वारेन्टाइनसहित वडा नं ३ कै महेन्द्रज्योति माध्यमिक विद्यालय परिसरमा, वडा नं ६ का लागि सुनाचुरीमा, वडा नं ७ का लागि बिजौना वा रमौलीस्थित विद्यालय र वडा नं ८ र ९ का लागि सम्भव भएसम्म आमाघर आश्रम परिसरमा क्वारेन्टाइन बन्न लागेको हो ।

समितिले उल्लेखित स्थानमा व्यवस्थित क्वारेन्टाइन बनाउनका लागि हरेक क्वारेन्टाइन रहने स्थानमा वडाध्यक्षको नेतृत्वमा अन्य जनप्रतिनिधि र स्वास्थ्यकर्मी राखेर क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । क्वारेन्टाइन व्यवस्थापन समितिले आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापन र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड बमोजिमका आधारहरु निर्माण गर्नेछ ।

‘पाँच स्थानमा राखिने क्वारेन्टाइनमा एक सयजनालाई सुरक्षित राखेर जाँच गर्न र निगरानी गर्न सकिने अनुमान छ’, गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भन्नुभयो । अहिले लामिटारस्थित सभाहलमा क्वारेन्टाइन सञ्चालनमा छ । सभा हल र विद्यालय भवनमा निर्मित क्वारेन्टाइनमा दुई महिला र दुई पुरुषलाई बिहिबारबाट राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टिकाराम अधिकारीले जानकारी दिनुभयो । बैठकले नयाँ एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको बैठकमा प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले क्वारेन्टाइन व्यवस्थापन लगायत क्रियाकलाप गर्न आर्थिक समस्या नहुने बताउनुभयो । बैठकमा १ नं वडाध्यक्ष शिवप्रसाद खनाल, २ नं वडाध्यक्ष आनन्द घलान, ३ नं वडाका कार्यबाहक अध्यक्ष बिष्ण्ुा थिङ, ५ नं वडाध्यक्ष शुभराज थिङ, ६ नं वडाध्यक्ष गोपीलाल मुक्तान, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, ८ नं वडाध्यक्ष दिलबहादुर स्याङ्तान, ९ नं वडाध्यक्ष साधुराम अधिकारी, डिभिजन वन कार्यालय राप्तीका प्रमुख दीर्घनारायण कोइराला, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख श्रीशंकर श्रेष्ठ, शसस्त्र प्रहरी आइआरटी पोष्ट प्रमुख मनबहादुर खड्का, स्वास्थ्यकर्मीहरु, राजनीतिक दलका तर्फबाट नेकपाका नेता रामप्रसाद कालाखेती, हेमलाल उप्रेती लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here