मनहरी बजार ।

मनहरी–लकडाउन कार्यान्वयन गर्न गठित मनहरी गाउँपालिकास्तरीय अनुगमन समितिले मनहरी बजारमा खाद्यान्न तथा तरकारी पसलहरु खोल्ने समय परिवर्तन गर्ने निर्णय गरेको छ ।

जस अनुसार यसअघि हरेक साताको आइतबार र बिहिबार बिहान १० बजेदेखि ४ बजेसम्म मात्र खाद्यान्न तथा तरकारी पसल खोल्ने निर्णय भएकामा अब हरेक दिन बिहान ६ देखि ९ बजेसम्म त्यस्ता पसलहरु खुल्ला हुनेछन् । खाद्यान्न लोड/अनलोड गर्नका लागि थप एक घण्टा अर्थात १० बजेसम्म समयसीमा निर्धारण भएको छ । यो अबधिमा स्थानीय तहको सिफारिसका आधारमा निर्माण सामग्रीहरु पनि लोड अनलोड गरिनेछ ।

समितिकी संयोजक मनिला बिष्टको अध्यक्षतामा इलाका प्रहरी कार्यालय मनहरीमा बसेको बैठकले लक डाउन कार्यान्वयन कडाई गर्ने निर्णय गरेको हो । यसअघि सातामा दुई दिन मात्रै खाद्यान्न र तरकारी पसल खोल्दा मनहरी बजारमा भीडभाड भएको र हाटबजारजस्तो देखिएको भन्दै सर्बत्र आलोचना भएको थियो ।

निर्णय अनुसार अब खाद्यान्न र तरकारी बोक्ने अटोहरुले यात्रु बोक्न पाउने छैनन् । अटोहरुका यात्रु बोक्ने पछाडिको सिट झिकेर मात्रै खाद्यान्न र तरकारी ढुवानी व्यवस्था गर्न पाउनेछन् । त्यसरी ढुवानीका लागि आउने अटोहरु मनहरी बजारको पूर्वतर्फ पुलपारि (बेलुवा) मा नै रोकिनेछन् भने पश्चिमतर्फका अटोहरु इलाका प्रहरी कार्यालय छेवमा प्रहरीले रोक्नेछ । सामान खरिद गरिसकेपछि खरिदकर्ताको बोलावटपछि मात्रै अटोहरु बजारमा प्रवेश गर्न पाउनेछन् ।

त्यसैगरी सामाजिक दुरी कायम गरेर मात्र खाद्यान्न र तरकारी बिक्री गर्न व्यवसायीहरुलाई अनुरोध गरिएको छ । एकपटकमा एकजना मात्रै ग्राहकलाई बिक्री गराउने र एउटा मात्र अटो वा साना सबारी साधनमा लोड/अनलोड गर्ने व्यवस्था मिलाउन व्यवसायीहरुलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

बैठकले राजमार्ग छेउका होटलहरु खुलम्खुल्ला रहेको पाइएको त्यस्ता होटलहरुमा बाहिरबाट आएका व्यक्तिहरुले खाना र खाजा खाने गरेकाले संक्रमण फैलन सक्ने भन्दै बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ । मनहरीमा बैँकिङ क्षेत्रमा पनि उपभोक्ताहरुले सहज सुविधा नपाएको गुनासो भएकाले बैँकका शाखा प्रवन्धकहरुसँग गाउँपालिकाले छिट्टै बैठक गरी सहज बनाउने अनुगमन समिति संयोजक बिष्टले बताउनुभयो ।

बैठकमा मनहरी गाउँपालिका ७ वडाध्यक्ष ठाकुरराम तितुङ, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख श्रीशंकर श्रेष्ठ, शसस्त्र प्रहरी आइआरटी पोष्टका प्रमुख मनबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी मनहरीका सचिव हेमलाल उप्रेती, नेपाली काँग्रेस मनहरीका सभापति नारायण उप्रेती लगायतको सहभागिता रहेको थियो । उहाँहरु सबैजना अनुमगन समिति सदस्य हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here