मनहरी एफएममा व्यवसायी साहको ज्वरो जाँच हुँदै ।

मनहरी–मनहरकिा खाद्यान्न व्यवसायी सुरेश साह अहिले मानसिक तनावमा हुनुहुन्छ । कारण हो–उहाँलाई कोरोना संक्रमण भएको हल्ला चल्नू ।

यही हल्लाका कारण दुई दिनदेखि तनावमा रहनु भएका साह मनहरी एफएमको कार्यालय आइपुग्नु भयो । र, आफ्नो दुखेसो राख्नुभयो । ‘म फागुन १५ घरायसी काम परेर बीरगञ्ज गएको थिएँ, त्यसपछि टाढा भनेको भरतपुर पुगेको छु’, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको कार्य समितिमा रही काम गरिसक्नु भएका साहले भन्नुभयो–‘मलाई न ज्वरो आएको छ, न त अन्य समस्या नै छ ।’

एकाएक कोरोना संक्रमण भएको हल्ला चलेपछि तनावमा रहनु भएका साह मनहरी एफएम आएर दुखेसो गर्नु भएपछि तत्कालै मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टिकाराम अधिकारीलाई उहाँकै अगाडि टेलिफोन गरियो । मनहरी बजारमै रहनु भएका अधिकारी एफएम कार्यकक्षमा आइपुग्नुभयो र उहाँको बिगतको हिँडडुल, बर व्यवहार बुझ्दै ज्वरो पनि नापिदिनुभयो । जेठ ३ गते साँझ ५ बजे ज्वरो नाप्दा उहाँको शरिरको तापक्रम जम्मा ९७.७ थियो । अर्थात यो एकदमै सामान्य स्वस्थ मानिसको तापक्रम हो ।

कोरोना संक्रमणबारे परामर्श दिँदै अधिकारीले साहसँगै आउनु भएका उहाँका छोरा र साथीहरुसहित एफएमका सञ्चारकर्मीहरुको समेत ज्वरो जाँच गर्नुभयो । सबैको सामान्य तापक्रमपछि एकापसमा सचेत हुनुपर्ने भन्दै अधिकारी बाहिरिनुभयो ।

तर, अनाहकमा हल्ला मच्चाएर आफूमाथि अन्याय भएको भन्दै साहले भने निकै दुःखेसो पोख्नुभयो । रातभर तनाव भएर ‘मर्निङ वाक’ मा जान पनि मन नलागेको उहाँले प्रतिक्रिया दिनुभयो । ‘मलाई सुगरको समस्या छ’, साहले भन्नुभयो–‘अरु कुनै पनि प्रकारको समस्या छैन ।’

आफू २०३९ सालदेखि मनहरी बजारमा काम गरेर जीवन काटिरहेको व्यवसायी भएपनि अनाहकमा प्रमाणित नै नभएका कुराहरु गरेर केही मानिसहरुले आफ्नो अपमान र मानमर्दन गरेको उहाँले बताउनुभयो । यसरी अपमान र अफवाह फैलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउन उहाँले आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here