राक्सिराङ–सहायताका लागि लिसा हिमालय इभी र दिगो विकासका लागि एकता नेपालले ७३१ परिवारलाई पुग्ने खाद्यान्न प्रदान गरेको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई लिसा हिमालय इभीका कार्यक्रम निर्देशक अन्जनप्रसाद पौडेल र दीगो विकासका लागि एकता नेपालका कार्यक्रम संयोजक अनिल पौडेलले संयुक्त रुपमा खाद्यान्न तथा सरसफाई सामग्री हस्तान्तरण गर्नु भएको हो । राक्सिराङ गाउँपालिका वडा नं ७ दामराङमा वडाबासीलाई राहत बितरण गर्नका लागि पुग्नु भएका गाउँपालिका अध्यक्ष मल्ललाई खाद्यान्न हस्तान्तरण गरिएको हो ।

हस्तान्तरित खाद्यान्नमा २५ किलोग्राम चामल, ३ किलोग्राम दाल, २ लिटर तेल, एक किलोग्राम नून र पाँचवटा डिटोल साबुन रहेका छन् । केही दिनअघि चट्याङ लागेर मृत्यु भएका तथा घाइते भएका परिवारलाई प्राथमिकतामा राखी राहत बितरण गरिएको हो । ७ नं वडामा आयोजित राहत बितरण कार्यमा बागमती प्रदेशका सांसद सन्तबहादुर चेपाङ, ७ नं वडाध्यक्ष कुलबहादुर चेपाङसहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

लिसा हिमालय इभी र दिगो विकासका लागि एकता नेपालले लामो समयदेखि सञ्चालन गरिरहेको शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत गाउँपालिकाको ६, ७ र ८ नं वडाका लागि ७३१ परिवारलाई राहत प्याकेज दिने सम्झौता गाउँपालिकासँग गरेको थियो । सम्झौता बमोजिम प्राप्त खाद्यान्न अब बाँकी वडाहरुमा पनि वडा कार्यालयको संयोजनमा बितरण हुने गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here