मनहरी–साना किसान कृषि सहकारी संस्था मनहरी ८ ले मनहरी बजार र आसपासका क्षेत्रमा घरदैलोमै पुगेर दूध बिक्री बितरण सुरु गरेको छ ।

पशुपालक किसानसँग संकलित दूध नाफा नखाइकनैे उपभोक्तालाई ६० रुपियाँ प्रतिलिटरका दरले बिक्री गर्न थालिएको साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष बिमला कार्कीले बताउनुभयो । उहाँका अनुसार किसानले सस्तोमा दूध बिक्री गर्नुपर्ने बाध्यतालाई घटाउने र खपत बढाउने उद्देश्यले घरदैलोमै पुगेर दूध बिक्री गर्न थालिएको हो ।

यसअघि मनहरी क्षेत्रमा दुग्ध विकास संस्थान र स्थानीय रुपमा संकलित दूध बिक्री हुनेगरेको थियो । लक डाउनपछि बिजौना दुग्ध उत्पादक सहकारी संस्थाले दूध संकलन गरी बजार क्षेत्रमा बिक्री बितरण थालेको थियो । तर, बिजौना दुग्ध उत्पादक सहकारी संस्थाले प्रतिलिटर ७० रुपियाँ बिक्री मूल्य तोकेर घरदैलोमै पुगेर बिक्री गरिरहेको थियो ।

साना किसानले घरदैलोमै पुगेर ६० रुपियाँँ प्रतिलिटरमा दूध बिक्री गर्न थालेपछि अन्य सहकारी र निजी फर्महरुलाई दूधको मूल्य घटाउन दबाब परेको छ भने उपभोक्ताहरु सस्तोमा दूध पाएकामा खुसी हुन थालेका छन् ।

‘आवश्यक परेमा हामी मनहरी बजारमै दुध डिपो पनि राख्छौँ’, साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष कार्की भन्नुहुन्छ–‘अफ्ठ्यारो अबस्थामा किसान र उपभोक्तालाई साथ दिनु सहकारीको कर्तब्य हो, यस्तो बेला नाफ हेरिनुहुन्न ।’ यसअघि साना किसानले ऋणीहरुलाई ब्याजमा १० प्रतिशत छुट दिने, साँवाको भाखा बढाउने र फास्ट ट्रयाकबाट एकै दिनमा १० हजार रुपियाँसम्म उपचार खर्च उपलब्ध गराउने निर्णय गरिसकेको छ । सहकारीले रासायिनिक मल समेत बिक्री बितरण गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here