कैलाश–लक डाउनका कारण मारमा परेका नागरिकहरुको उद्धारका लागि कैलाश गाउँपालिकाले तदारुकता देखाएको छ ।
गाउँपालिका बाहिर रहेका नागरिकहरुको अबस्था बुझेर गाउँपालिकासम्म ल्याउने व्यवस्था गर्न लागिएको कैलाश गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानका अनुसार अनलाइन फारम भरेर गाउँपालिका बाहिर रहेका नागरिकहरु सम्पर्कमा आउने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी हरेक वडामा रहेका वडा कार्यालयमार्फत आफ्ना वडामा घर भएका तर गाउँपालिकाभन्दा बाहिर रहिरहेका नागरिकहरुको विवरण संकलन थालिएको अध्यक्ष मुक्तानले जानकारी दिनुभयो । ‘अनलाइन फर्म भरेका र वडाका जनप्रतिनिधिहरुमार्फत सम्पर्कमा आएका नागरिकहरुको उद्धारका लागि गाउँपालिकाले पहल गर्नेछ’, गाउँपालिका अध्यक्ष मुक्तानले भन्नुभयो । उहाँले विवरण संकलन सकिने बित्तिकै आवश्यक पर्ने सवारी साधन भाडामा लिएर बिचल्लीमा परेका नागरिकहरुको उद्धार गरिने बताउनुभयो ।
अहिले हरेक वडामा विवरण संकलनका लागि पत्राचार र समन्वय भइसकेको र गाउँपालिकाको वेवसाइट र फेसबुकमार्फत अनलाइन फारम पनि खुला गरिसकिएको गाउँपालिकाले जानकारी दिएको छ । ‘जतिसक्दो उद्धार गर्न तत्पर छौ’, अध्यक्ष मुक्तानले भन्नुभयो–‘बाहिर रहनुहुने नागरिकहरुले सम्बन्धित वडाका जनप्रतिनिधिहरुमार्फत खबर गर्नुहुनु अनुरोध गर्दछु ।’
गाउँबाहिर रहेका नागरिकहरुलाई व्यवस्थित ढंगले स्वास्थ्य सुरक्षा विधि अपनाएर स्वास्थ्यकर्मीको समेत सहयोग र समन्वयमा गाउँ फिर्ता गरिने तयारी छ । ‘हाम्रो गाउँमा बाहिरका नागरिकहरु आउँदा जुन रुपमा शंका र अपमानको दृष्टिले हेर्ने गरिएको छ, हाम्रा गाउँपालिकाका नागरिकहरु पनि अन्त त्यस्तै दुःख र अपमान सहँदै होलान्’, अध्यक्ष मुक्तानले भन्नुभयो–‘यो दुःखमा नागरिकको सहयात्री बन्न गाउँपालिकाले पहल गरिरहेको छ ।’
कैलाश गाउँपालिकाले बिचल्लीमा परेका नागरिकहरुले अनलाइन फर्म भर्न असमर्थ भएमा वडाका जनप्रतिनिधिहरु तथा गाउँपालिका अध्यक्षको मोबाइल ९८५५०७७२६६, प्रमुख प्रशासकीय अधिकृतको मोबाइल ९८५५०८८२६६, सूचना तथा प्रविधि अधिकृत ९८५५०२३५८९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
अनलाइन फारम भर्न यो लिंकमा थिच्नुहोस् । https://docs.google.com/forms/d/e/1FAIpQLScK21oD2VyTMLZvwCQcBI28JZieMfpKCIHjp21vJG1cpL_r-g/viewform?fbclid=IwAR2cqt2sSfM6UvZtYc4ZVDZxBcXM5ODmFmcvI8LgFCwVUddaczlvP2WD_ZE