मनहरी–पश्चिम मकवानपुरको प्रमुख व्यापारिक केन्द्र मनहरी बजारमा तपाई बिहान ९ बजेअघि निस्कनु भयो भने दंग पर्नुहुन्छ । तराईका हाटबजारकै झल्को लाग्ने गरी गुडेका मोटरसाइकल, अटो, बोलेरो गाडी र रमिता हेर्नेको भीड ।

बिहान ७ देखि ९ बजेसम्म दाल, चामल, नुन, तेल र तरकारी किन्नका लागि समय छुट्याइएको हो । यो समयमा ती पसलहरु खुल्छन् । बिहिबार बिहान लुकिछिपी हार्डवेयर पसल, मोटरसाइकल ग्यारेज, सैलुनहरु पनि खुलेका देखिए ।

तर जब गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको नेतृत्वमा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति, इलाका प्रहरी कार्यालय मनहरी, शसस्त्र प्रहरी आइआरटी पोष्टसहित सरोकारवालाहरुको अनुगमन टोली बजारमा निस्कियो, त्यसपछि बजार सुनसान झैँ भयो । ‘मनहरी बजारमा जस्तो भीडभाड अन्य बजारमा देखेका छैनौँ’, एक स्थानीयबासिन्दाले भन्नुभयो–‘कडाई नगर्नाले झन् झन् मानिसहरुले हेप्दै गए ।’ मनहरी बजारलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने समेत उहाँले सुझाव दिनुभयो ।

अनुगमनका क्रममा खाद्य, किराना तथा तरकारी पसलहरुमा सामाजिक दुरी कायम गरेको अबस्था भेटिएन । व्यवसायीहरुले ग्राहकले नै नियम नमान्ने गरेको बताउने गरेका छन् । तर, त्यस्ता ग्राहकलाई सामान बिक्री नगर्न अनुगमन समितिले आग्रह गरेको छ । यदि नियम नमाने व्यवसायी नै कारबाहीमा पर्ने निर्णय भएको छ ।

अनुगमनका क्रममा अटोहरुमा खाद्यान्न भन्दै बियर, कोककोला, ड्यु, चुरोट, गुट्खाजस्ता बिलासीका सामानहरु खरिद गरी ओसारपसार गरेको पाइयो । यसरी ओसार पसार गर्नेमा मनहरी ८ सिमपानी, मनहरी ७ बिजौना, रमन्टारतिरका व्यवसायीहरु थिए । त्यसैगरी दुईवटा अटोमा लोड गरिएको रक्सी र पेयपदार्थलाई अटोसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पु¥याएर आगामी दिनमा नबोक्ने सर्तमा छाडिएको छ । एटा बोलेरो गाडी समेत नियन्त्रणमा लिएर पास बिना मनहरी बजार नछिर्ने सर्तमा छाडिएको छ । चैनपुरमा खाद्यान्न लैजान भनेर आएको बोलेरो गाडीमा चामलसँगै पेयपदार्थहरु हालिएको थियो ।

स्थानीयबासिन्दाहरु आफै सचेत भएर आफ्ना घर छेउछाउ हिँड्नेहरुलाई काम नपरी नहिँड्नका लागि अनुरोध गर्नुपर्ने अबस्था छ भने प्रहरीले पनि कडाईका साथ लक डाउन कार्यान्वयन गर्नुपर्ने अबस्था छ । प्रहरीले स्थानीयका मोटरसाइकलहरु समाउने र लकडाउनपछि मात्रै फिर्ता दिनेगरी काम गर्न अनुगमन समितिले रायसुझाव दिएको छ ।

अनुगमन टोलीले मनहरी ८ बेलुवास्थित दिपशिखा आयलको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा डिजेल मात्र बिक्री भइरहेको पाइएको छ भने पेट्रोल सकिएको पम्पले जानकारी दिएको छ । पेट्रोलको मूल्य घटबढ भइरहेकाले पेट्रोल ल्याउन नसकिने बताइरहेको पम्पले केही दिनमै पेट्रोल ल्याउने जनाएको छ ।

पम्पमा पेट्रोल नपाएपछि केही किराना पसल, साना घुम्ती पसलहरुबाट मनहरी बजार र आसपासमा प्रतिलिटर १२५ रुपियाँ तिरेर उपभोक्ताले किन्ने गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here