रजैयास्थित अग्निहोत्राश्रममा निर्मित क्वारेन्टाइन ।

मनहरी–पूर्वपश्चिम राजमार्गको हेटौँडा–नारायणगढ खण्डमा पर्ने रजैया बजारबाट दक्षिणतर्फ ५ मिनेट हिँडेपछि पुगिन्छ, अग्नि होत्राश्रम । जहाँ आयुर्वेदिक ज्ञानको भण्डार नै छ भने पनि हुन्छ ।
ऋग्वेद अध्ययनबाट पिएचडी उपाधि हासिल गर्नु भएका डाक्टर सीताराम खनाल करिब एक दशकदेखि यही आश्रममा बस्नुहुन्छ । आश्रम वरिपरि बगैचा छन्, मन्दिर छन् र दुई ठूला ठूला सभा हलहरु पनि बनेका छन् ।

उत्तरबाहिनी चुरेको खहरे र पूर्वपश्चिम बग्ने राप्तीखोलाको दोभानमा रहेको यो आश्रम मनहरी गाउँपालिकाको ५ नं वडाको रुन्चेडाँडा र दरदरा पस्ने प्रमुख नाका पनि हो ।

क्वारेन्टाइनको अवलोकन गर्दै प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, बागमती प्रदेश सांसद ओमबहादुर ग्लान, गाउँपालिका अध्यक्ष एकराज उप्रेती लगायत ।

यहाँ उल्लेख गर्न खोजिएको बिषय अध्यात्मिक वा आश्रमको होइन । चर्चा गर्न खोजिएको बिषय चाहिँ आश्रम परिसरमा निर्माण गरिएको सम्भवतः मकवानपुरकै नमूना क्वारेन्टाइनको हो । आश्रम परिसरमा गत बर्ष मात्रै निर्माण सम्पन्न भएको सभाहल अहिले सभाहल होइन, कोरोनाको संकास्पद व्यक्तिका लागि बनेको क्वारेन्टाइन हो ।

क्वारेन्टाइनमा जोकोही पुग्दा भन्नुहुन्छ–‘यत्तिको राम्रो व्यवस्थापन हामीले अन्यत्र देखेका छैनौँ ।’ शनिबार बिहान क्वारेन्टाइन अनुगमनमा पुग्नु भएका प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले भन्नुभयो–‘स्थानीय तहको तर्फबाट भएको यो प्रयास अत्यन्तै सह्रानीय हो ।’ अरु स्थानीय सरकारहरुले पनि क्वारेन्टाइन निर्माण र सञ्चालनमा मनहरी गाउँपालिकाबाट सिक्नुपर्ने उहाँले बताउनुभयो ।

क्वारेन्टाइनको अवलोकन गर्दै ।

आखिर सबैको मन जित्ने रजैया क्वारेन्टाइनमा त्यस्तो के छ त ? मनहरीलाइभले मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टिकारामी अधिकारीलाई सोध्यो । अधिकारीका अनुसार १० वटा व्यवस्थित बेड हेटौँडाबाट खरिद गरी ल्याइएको हो । गाउँपालिकाले आगामी दिनमा ९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन चाहेकाले पछि पनि काम लाग्नेगरी बेड खरिद गरेको हो । बेडमा झुल, सिरानी, पर्सनल हाइजेनिक किटजस्ता आबश्यक सबै सुविधाहरु राखिएको छ । क्वारेन्टाइनमा पस्नका लागि स्यानिटाइजर अनिबार्य गरिएको छ ।

‘संकास्पद बिरामी आएमा सेवा गर्नका लागि अहिले एकजना स्वास्थ्यकर्मी र एकजना सहयोगीलाई स्ट्याण्डबाई राखिएको छ ।’, अधिकारीले भन्नुभयो । क्वारेन्टाइनमा शंकास्पद बिरामी आउन साथ तीन सिफ्ट गरी स्वास्थ्यकर्मीको ड्युटी लगाइने उहाँले जानकारी दिनुभयो । त्यसैगरी क्वारेन्टाइनमा बस्ने व्यक्तिका लागि बिहनको नास्ता, खाना, दिउँसोको खाजा र साँझको खाना गरी दैनिक चारपटक खानपानको व्यवस्था पनि गरिने तयारी छ । उनीहरुका लागि छुट्टै शौचालय तथा पानीको व्यवस्थापन गरिएको छ ।

शान्त ठाउँमा रहेको क्वारेन्टाइनमा रहने व्यक्तिहरुको स्वास्थ्य सेवा र औषधी उपचार निःशुल्क हुनेछ । क्वारेन्टाइन नजिकै बनेको अर्काे दुईवटा वार्डमा स्वास्थ्यकर्मीहरुका लागि आवाशीय व्यवस्थापन गरिएको छ ।

‘अहिलेसम्म क्वारेन्टाइनमा कसैलाई पनि राख्नुपरेको छैन’, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भन्नुभयो–‘क्वारेन्टाइनमा जोकोही राख्नका लागि सकेसम्म सुविधाजनक व्यवस्थापनमा गाउँपालिको कुनै कसर बाँकी राखेको छैन ।’ स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा दिएर पनि कोरोना संक्रमणका बिरुद्ध लड्नका लागि स्थानीय सरकारले अनेकन व्यवस्थापनमा ध्यान दिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख अधिकारीका अनुसार १० वटा बेडको क्वारेन्टाइन निर्माण गर्नका लागि प्रतिबेड बढीमा १५ देखि २० हजार रुपियाँ खर्च भएको छ । सञ्चालन खर्च क्वारेन्टाइनमा बस्ने मान्छेहरुको आधारमा घटीबढी हुने उहाँले बताउनुभयो । ‘यत्रो महामारीका बेला व्यवस्थित क्वारेन्टाइन थोरै खर्चमै बन्न सक्ने उदाहारण हामीहरुले प्रस्तुत गरेका छौँ ।’, स्वास्थ्य ंसंयोजक अधिकारीले भन्नुभयो ।

क्वारेन्टाइनको मकवानपुर क्षेत्र नं २ को (ख) का निर्वाचित सांसद इन्द्रबहादुर बानियाँ, सांसद ओमबहादुर ग्लान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतले अनुगमन गरी गाउँपालिकालाई उत्कृष्ट कार्यका लागि धन्यवाद दिइसकेका छन् । अनुगमनमा आउने सबैले सोध्ने गर्छन्, ‘यो क्वारेन्टाइनमा अहिलेसम्म कतिजना मानिस बसे ?’ गाउँपालिका भन्छ–‘अहिलेसम्म एकजना पनि बस्नुपरेको छैन, सकेसम्म कोही पनि यहाँ बस्नु पनि नपरोस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here