कैलाश–कोरोना भाइरसको संक्रमण रोक्नका लागि स्थानीय सरकारहरुले गरिरहेको कामलाई संघीय सांसद बिरोध खतिवडा, बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता एबम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँ र बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लानले नजिकबाट नियाल्नु भएको छ ।

मकवानपुरको कैलाश गाउँपालिकामा एकसाथ पुग्नु भएका संघीय सांसद खतिवडा र बागमती प्रदेशका सांसदद्वयले कोरोनाको संक्रमण रोक्ने कार्यमा राजनीतिको गन्ध कहीँकतैबाट आउ नहुने बताउनु भएको हो ।

कैलाश गाउँपालिका ३ स्थित भवानी माध्यमिक विद्यलायमा स्थापना भएको क्वारेन्टाइन अवलोकनपछि गाउँपालिकाको सभाहलमा भएको संक्षिप्त अन्तरक्रियामा कोरोना भाइरसको संक्रमण रोक्न एकजुट भएर अघि बढ्नुको विकल्प नरहेकोमा उहाँहरुको जोड थियो । ‘दक्षिण एसियामा के कति कारणले हो संक्रमण बढ्ने दर निकै कम छ’, सांसद खतिवडाले भन्नुभयो–‘यसो भयो भन्दैमा हामी ढुक्क बनेर बस्ने होइन ।’ कोरोना नियन्त्रणका लागि गाउँपालिकाले गरेको प्रयासको पनि खतिवडाले प्रशंसा गर्नुभयो ।

त्यसैगरी बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता बानियाँले संकटका बेला कसैले पनि राजनीतिक मुद्दा बनाएर अघि बढ्न नहुने बताउनुभयो । उहाँले विपद् व्यवस्थापन समितिमार्फत एकद्वारा प्रणालीबाट राहत बितरण गर्ने सरकारले गरेको प्रयासमा सबैले प्रतिबद्धता जनाएर स्थानीय सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी अर्का सांसद ओमबहाुर ग्लानले राहतको नाउँमा भूकम्पपीडितलाई बाँडेजसरी मनलाग्दी गर्न नहुने भन्दै कार्यविधि अनुसार अघि बढ्न सुझाव दिनुभयो ।
गाउँपालिकाभित्र नामटार स्वास्थ्यचौकीमा मात्रै ज्वरो जाँच केन्द्र स्थापना गर्न सफल भएको, एउटा क्वारेन्टाइन कक्ष निर्माण गरिएको जानकारी स्वास्थ्य संयोजक श्यामसुन्दर गुप्ताले गराउनु भएको थियो । त्यसैगरी गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले विपद् व्यवस्थापन समितिको बैठक बसेर पारदर्शी ढंगले भोकमरीमा परेका बास्तविक पीडितहरुलाई राहत बाँडिने जानकारी
दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, ३ नं वडाध्यक्ष देवलाल बल, सञ्चारकर्मी शिवकुमार काशी, सुजन विडारी, नेपाली काँग्रेसका नेता लोकबहादुर मुक्तान लगायतको सहभागिता रहेको थियो ।

यसैबीच नेपाली काँग्रेसका नेता एबम् बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता बानियाँले व्यक्तिगत रुपमा कैलाश गाउँपालिकाको विपद् कोषमा दिने घोषणा गर्नु भएको २ लाख रुपियाँको चेक गाउँपालिका अध्यक्ष मुक्तानलाई हस्तान्तरण गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here