राक्सिराङ–कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न गरिएको लक डाउनका बेला भोकमरीमा परेका जनतालाई खाद्यान्न प्रदान गर्न राक्सिराङ गाउँपालिकामा राजनीतिक सक्रियता बढेको छ ।

राक्सिराङ गाउँपालिकामा रहेको नेपाल कम्युनिष्ट पार्टीले २ लाख रुपियाँ बराबरको खाद्यान्न, तेल, नूनजस्ता दैनिक उपभोग्य सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेको छ । त्यसैगरी नेपाली काँग्रेस राक्सिराङ गाउँपालिका इकाई समितिले विपद् व्यवस्थापन कोषमा १ लाख ११ हजार १ सय ११ रुपियाँ रकम जम्मा गरिदिने प्रतिबद्धता व्यक्त गरेको हो ।

‘राक्सिराङबासीका दुःखमा हामी कुनै न कुनै रुपमा सँगै छौँ भन्ने सन्देश दिन चाहेका छौँ’, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य तथा राक्सिराङ इन्चार्ज बनस्तम थिङले भन्नुभयो–‘यस्तो दुःखको बेला नै जनतालाई राजनीतिक आभाष दिलाउने हो ।’ उहाँले अन्य समसामयिक र जनताको चिन्ता र चासोमा स्थानीय सरकार र सरकारको नेतृत्व गरेको नेपाली काँग्रेससँग पनि पर्याप्त छलफल गरेर अघि बढ्ने कुरामा नेपाल कम्युनिष्ट पार्टी स्पष्ट रहेको बताउनुभयो ।

नेपाली काँग्रेसको नेतृत्वमा राक्सिराङ गाउँपालिकामा स्थानीय सरकार अघि बढेको छ । यस्तो अबस्थामा स्थानीय सरकारको कामलाई प्रभावकारी बनाउँदै सरकारको सहयात्रीको रुपमा नेपाली काँग्रेस अघि बढिरहेको राक्सिराङ गाउँपालिका इकाई सभापति बीरेन्द्र जिम्बाले बताउनुभयो । ‘हामीले केही दिन अगाडि नै स्थानीय सरकारको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने निर्णय गरिसकेका छौँ’, सभापति जिम्बाले भन्नुभयो–‘एकद्वार प्रणालीबाट राहत बितरण गर्ने सरकारको नीतिमा हामी प्रतिबद्ध छौँ ।’

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङलाई संयुक्त रुपमा नेकपाले खाद्यान्न हस्तान्तरण गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले खाद्यान्न बितरण गर्दा बागमती प्रदेश कमिटी सदस्य एबम् बागमती प्रदेश सभा सदस्य ओबहादुर ग्लान, संविधानसभा सदस्य तथा जिल्ला सचिवालय सदस्यद्वय राजाराम स्याङ्तान, गोविन्दराम चेपाङ, जिल्ला सदस्य सुन्तली चेपाङ, गाउँ कमिटी अध्यक्ष हस्तबहादुर मुक्तानसहित नेताहरु सहभागी हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here