कैलाश–कोभिड १९ को संक्रमण रोक्न स्थानीय तहले गरेका प्रयासहरुमा बाधकको रुपमा यतिखेर विभिन्न खाले उपकरणको अभाव देखिएको छ ।

पर्याप्त रुपमा स्वास्थ्य सामग्री र उपकरणहरु नहुँदा ज्वरो जाँचमा समस्या परिरहेको स्थानीयतहका प्रमुखहरुले बताउनु भएको छ । स्थानीय तहले पटक पटक उपकरण तथा स्वास्थ्य सामग्री खरिद गर्न खोजे पनि बजारमा सहज रुपमा उपलब्ध नभएका कारण सेवा प्रबाहमा ढिलो भइरहेको बताइन्छ । यद्यपि, उपलब्ध जनशक्ति, स्रोत र साधन प्रयोग गरेर सबै स्थानीय तहले क्वारेन्टाइन निर्माण गर्ने, स्वास्थ्य चौकीहरुमा ज्वरो जाँच गर्ने, पीपीइको प्रयोग गर्ने तथा अन्य सचेतनामुलक कामहरु गरिरहेको छ ।
यसै सन्दर्भमा मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नं ९ नामटारमा फिभर गनको प्रयोग गरी ज्वरो जाँच गर्न थालिएको छ । फिभर गन किन्नका लागि अनेक प्रयासहरु गर्दा पनि उपलब्ध नभएपछि कैलाश गाउँपालिकाले ज्वरो जाँच क्लिनिक चलाउन सकेको थिएन । तर, हेटौँडा ११ निबासी युवा समाजसेवी अन्जनप्रसाद पौडेलले फिभर गन उपलब्ध गराउनु भएपछि नामटार स्वास्थ्यचौकीमा ज्वरो जाँच गर्न थालिएको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो ।
उहाँका अनुसार पौडेलले फिभर गन उपलब्ध गराउनु भएसँगै नामटारमा ज्वरो जाँच केन्द्र स्थापना गरी बाहिरबाट गाउँ भित्रनेहरुको अभिलेख राखी ज्वरो नाप्ने काम गरिएको छ ।

स्वास्थ्य चौकीमा उपलब्ध स्वास्थ्यकर्मीहरुले सेनेटाइजरको प्रयोग गर्ने, हात धुन लगाउने तथा ज्वरो जाँच्ने काममा सघाउ गरिरहेको ९ नं वडाध्यक्ष सुमन लटौलाले बताउनुभयो ।
कैलाश गाउँपालिकामा डाँडाखर्क, गोगने, कालिकाटार, नामटार र भार्तामा गरी ५ वटा स्वास्थ्यचौकी रहेका छन् । फिभर गन उपलब्ध हुनासाथ ५ वटै स्वास्थ्यचौकीमा ज्वरो जाँच केन्द्र स्थापना गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष मुक्तानले बताउनुभयो । ‘पैसा खर्चेर किन्न खोज्दा पनि पाइन’, अध्यक्ष मुक्तानले भन्नुभयो–‘अझै ४ वटा फिभर गन चाहिएको छ ।’ उनले फिभर गन उपलब्ध गराउने अन्जनप्रसाद पौडेललाई धन्यवाद दिँदै कोही कसैसँग उपलब्ध भएमा थप फिभर गन उपलब्ध गराइदिनुहुन पनि अपिल गर्नु भएको छ ।

यसैबीच कैलाश गाउँपालिकाको केन्द्र कालिकाटारमा ५ वटा बेडसहित क्वारेन्टाइन निर्माण भएको छ । स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर महतोका अनुसार संकास्पद बिरामीलाई एकान्तमा राख्नका लागि कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयको कोठामा क्वारेन्टाइन निर्माण भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here