मनहरी–लक डाउनका कारण आर्थिक कारोबारमा समस्या आएपछि आगामी आइतबार (चैत २३ गते) देखि मनहरीका बैँकहरु आंशिक खोलिने भएको छ ।

मनहरी गाउँपालिकाले बजारको आपूर्ति व्यवस्था, अत्यावश्यकीय सेवा र दैनिक उपभोग्य बस्तुहरुको सहज उपलब्धताका लागि बैँकहरु खोल्नका लागि अनुरोध गरेको हो । गाउँपालिका स्तरीय अनुगमन समितिको पहलमा मकवाननपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिमा भएको छलफलमा बैँकहरु खोलेर केही समय सेवा दिनका लागि आग्रह गरिएको हो । जस अनुसार विहान ११ बजेदेखि १ बजेसम्म बैँकमा भीडभाड नहुने र पूर्ण सरसफाईको व्यवस्थासहित बैँकहरुले सेवा सञ्चालन गर्नुपर्नेछ ।

‘सेनिटाइजर र साबुन पानीको व्यवस्थासहित भीड नहुनेगरी बैँकहरु खोल्नका लागि सल्लाह गरिएको छ’, गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भन्नुभयो–‘भीडभाड नहुनेगरी सामाजिक दुरी कायम गरी लाइनबद्ध तरिकाले सेवाग्राहीले सेवा लिनुपर्नेछ ।’

मनहरी बजारमा रहेका ५ वटा र रजैयामा रहेका दुईवटा बैँकहरुलाई सेवा सुचारु गर्नका लागि आग्रह गरिएको हो । बैठकमा अहिले अत्यावश्यक बस्तु र खाद्यान्न बिक्री बितरण भइरहेको समय बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म तरकारी पसल, खाद्यान्न, दुध तथा मासुजन्य र कृषि र पशु उद्यममा आधारित पसलहरु खोल्ने सहमति भएको छ ।

बैठकमा मनहरी बजारमा अत्याबश्यक बस्तुको मौज्दात अबस्था, कालोबजारी लगायतका बिषयमा पनि व्यवसायीहरुसँग छलफल भएको छ । छलफलमा अनुगमन समितिकी संयोजक एबम् गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले लक डाउन लम्बिए पनि खाद्यबस्तु दिन सक्नेगरी आपूर्ति व्यवस्थामा गाउँपालिकाले सहजीकरण गर्ने बताउनुभयो । व्यवसायीहरुले पनि गाउँपालिकाको सहजीकरणलाई सकारात्मक भएको बताएका थिए ।

अनुगमन समितिका संयोजक एबम् गाउँपालिका उपाध्यक्ष बिष्टको अध्यक्षतामा भएको बैठकमा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीसहित ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, मकवानपुर उद्योग बाणिज्य संघ जिल्ला सदस्य कृष्णहरि बर्ताैला, पश्चिम क्षेत्र सभापति नारायण सुवेदी, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख श्रीशंकर श्रेष्ठ, सञ्चारकर्मी शिवकुमार काशी, नेकपाका प्रतिनिधि हेमलाल उप्रेती, नेपाली काँग्रेसका नारायण उप्रेती लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here