मनहरी–कोरोना भाइरसको संक्रमण बढ्ने डरले लक डाउन घोषणा भएपछि कतिपय स्थानमा ज्याला मजदुरी गरेर बिहान–बेलुका हातमुख जोर्ने परिवारलाई समस्या भएको छ ।

दैनिक श्रम गर्ने र दाल चामल किनेर हातमुख जोर्ने गरेका श्रमिकहरुले भोकै बस्नु नपर्नेगरी गाउँपालिकाले व्यवस्था गर्ने अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार सोमबार बसेको गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले घरमा अन्न सकिएर खान धौ धौ पर्ने परिवारलाई चामल, दाल, नून, तेल उपलब्ध गराउने निर्णय गरिएको हो । ‘साँझ–विहान चुल्हो बल्न छाडेका घरमा खाद्यान्न आवश्यक भएकोबारे वडास्तरीय विपद् व्यवस्थापन समितिले पहिचान गरेर सिफारिस गरेपछि गाउँपालिकाले व्यवस्थापन गर्नेछ’, अध्यक्ष उप्रेतीले भन्नुभयो । उहाँका अनुसार यसअघि भूकम्पका बेला राहत बाँडेजसरी मनलाग्दी रुपमा खाद्यान्न बितरण गरिनेछैन । ‘खाने अन्न सकिएपछि मात्रै गाउँपालिकाले यस्तो व्यवस्थापन गर्ने हो, जथाभावी रुपमा खाद्यान्न बाँड्ने काम यो पटक हुनेछैन ।’, अध्यक्ष उप्रेतीको भनाई छ ।

बिपद् व्यवस्थापन समितिले वडापालिकाहरुमार्फत दैनिक ज्याला मजदुरी गरी दैनिक जीवन बिताउनेहरुको सूचि संकलन गर्न वडास्तरीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिएको छ । त्यसैगरी राहत बितरणमा एकद्वार प्रणालीलाई अक्षरस कार्यान्वयन गर्ने र कसैले एकद्वार प्रणाली नमानेर स्थानीय तहसँग समन्वय नगरी खाद्यान्न बाँडेमा नियन्त्रणमा लिइने, विदेशबाट फर्केकाहरुको घरघरै पुगेर ज्वरो जाँच गर्ने, सुरक्षाकर्मीहरुका लागि इन्धन र सुरक्षा सामग्रीहरु उपलब्ध गराउने, कोरोना नियन्त्रण अभियानभर खटिएक स्वास्थ्यकर्मी तथा सबारी चालहरुलाई अतिरिक्त ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

त्यसैगरी बजारमा हुने कालाबजारी रोक्न र विपद् व्यवस्थापन समितिको निर्णयहरुको कार्यान्वयन अनुगमन गर्न उपाध्यक्ष मनिला बिष्टको संयोजकत्वमा सात सदस्यीय समिति बनाइएको छ । समितिमा ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, नेकपाका हेमलाल उप्रेती, नेपाली काँग्रेसका नारायण उप्रेती, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी, सञ्चारकर्मी शिवकुमार काशी, इलाका प्रहरी कार्यालय मनहरीका प्रतिनिधि सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here