मनहरी–चितवनको सीमासँग जोडिएको मनहरी गाउँपालिकाले विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न स्थानीय स्तरमा नमूना काम गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा भाइरेक्स छर्कदै स्वास्थ्यकर्मी ।

मुख्यतः यस्तो बिषम परिस्थितिमा पनि जनप्रतिनिधिहरुलाई चलायमान राख्नु र आफै पनि अध्यक्ष/उपाध्यक्षहरु फिल्डमा पुगेर उर्जा प्रदान गर्नु नै ठूलो कुरा हो । गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला बिष्टको चासो र चिन्ताका कारण स्वास्थ्य शाखाको सक्रियतालाई निकै उच्च बढाइएको छ । जसका कारण स्वास्थ्य संस्थाहरु अत्यन्तै व्यवस्थित पारिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा तापक्रम नाप्नका लागि तयार पारिएको डेस्क ।

ज्वरो क्लिनिक
प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमण रोक्नका लागि छुट्टै ज्वरो क्लिनिक सञ्चालन गर्न सक्नु ठूलो उपलब्धी हो । ज्वरो क्लिनिकबाट मानिसहरुले लाभ लिइरहेका छन् । अन्य स्थानीय तहहरुभन्दा व्यवस्थित र स्वास्थ्य कर्मीसहितको ज्वरो क्लिनिकमा मनहरी गाउँपालिकाले कोरोना रोक्नका लागि गरेको प्रयास झल्किन्छ ।

प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा व्यवस्थित ज्वरो क्लिनिक ।

संक्रमणमुक्त स्वास्थ्य केन्द्र
मनहरी गाउँपालिकाले मनहरी ७ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई संक्रमणमुक्त स्थान बनाएको छ । यसका लागि हरेक दिन बिहान÷बेलुका भाइरेक्स र क्लोरिन वाटरले स्वास्थ्य केन्द्र सफा गरिएको छ । त्यस्तै संकास्पद बिरामी आएमा पनि भाइरेक्स वा क्लोरिन पानीले स्वास्थ्य केन्द्र सफाई गर्ने गरिएको डाक्टर शरद दाहालले बताउनुभयो । स्वास्थ्य केन्द्रमा आकस्मिक सेवातर्पm पिपिए (स्वास्थ्यकर्मीले लगाउने संक्रमण रोक्ने पोशाक) सहित व्यवस्थापन गरिएको छ । त्यसैगरी स्वास्थ्य केन्द्र छिर्नासाथ हात धुनुपर्ने व्यवस्था अनिबार्य गरिएको छ भने अनावश्यक भिडभाड गर्न स्थानीय मानिसहरु कोही पनि आउन निषेध गरिएको छ । यत्ति गरेपछि लगभग स्वास्थ्य केन्द्र संक्रमणमुक्त हुने अपेक्षा गरिएको छ ।

मनहरी बजारका भीडभाड हुने स्थानहरुमा भाइरेक्स स्प्रे गरिँदै ।

स्वास्थ्यकर्मीलाई आवासीय सुविधा र भत्ता
गाउँपालिकाले १५ जना स्वास्थ्यकर्मीलाई छुट्टै आवासीय व्यवस्था गरेको छ । मनहरी ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीमा स्वास्थ्यकर्मीलाई खानपान र आवासको व्यवस्थापन गरिएको हो । ८ घण्टा ड्युटी गरेर आराम गर्ने, खाना÷खाजा खाने, व्यक्तिगत सरसफाई गर्ने कार्य सहज बनाउन यस्तो व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेती बताउनुहुन्छ । उहाँका अनुसार कोरोना अभियानमा खटिएका स्वास्थ्यकर्मीका लागि अतिरिक्त भत्ताको पनि व्यवस्था गरिएको छ ।

राजमार्ग हुँदै तराई जान लागेकाहरुलाई लक्षित गरी गाउँपालिकाद्वारा निःशुल्क खाजा र पानीको व्यवस्थापन ।

भाइरेक्स/क्लोरिन स्प्रे
भीडभाड जम्मा हुने स्थान छानेर गाउँपालिकाले भाइरेक्स स्प्रे गर्न थालेको छ । कोरोनाको संक्रमण भएको भएपनि भाइरेक्सले संक्रमणमुक्त बनाउने भएकाले मनहरी बजार, सिमपानी लगायत स्थानहरुमा स्प्रे गरिएको छ । मनहरी गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ तर्फ पनि भीडभाड हुने स्थानको पहिचान गरी चौतारा, चोक, सार्बजनिक स्थानहरुमा स्प्रेको तयारी गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
पैदल यात्रीलाई खाजा
राजमार्ग हुँदै तराईतर्फ पैदल हिँडेका पैदल यात्रीलाई गाउँपालिकाले चिउरा, दालमोठ, चिनी र पानीको व्यवस्था गरेको छ । इलाका प्रहरी कार्यालयको चौतारोमा प्रहरीसँग समन्वय गरी गाउँपालिकाले यस्तो व्यवस्था गरेको हो । यससँगै प्रहरीसँग समन्वय गरी अलपत्र परेका पैदल यात्रीहरुलाई भारतीय गाडीमा चढाएर तराईका जिल्लाहरुमा पठाउन थालिएको छ ।

कालाबजारी रोक्न अनुगमन
मनहरी बजारमा कालाबजारीको सम्भावनालाई रोक्न गाउँपालिकाले वडा कार्यालय, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समित, प्रहरी समेतको सहभागितामा तरकारी तथा खाद्यान्न पसलहरुको अनुगमन गरेको छ । त्यसैगरी स्टक सामानहरुको विवरण तयार पारी हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म पसल खुलाउने व्यवस्था गरेको छ ।

विदेशबाट फर्केकाको खोजी
गाउँपालिकाले हरेक वडामा वडाध्यक्षमार्फत विदेशबाट फर्केकाहरुको विवरण संकलन गर्ने काम भएको छ । विदेशबाट फर्केकाहरुलाई घरमै क्वारेन्टाइनमा बस्न र आवश्यक परे स्वास्थ्य सेवा लिनका लागि गाउँपालिकाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी र प्रहरीमार्फत सहजीकरण गरिरहेको छ ।
सचेतनाका लागि माइकिङ
९ वटै वडामा गाउँपालिकाले जिंगल निर्माण गरी माइकिङ गरेको छ । माइकिङमा भीडमा नबस्न, विदेशबाट फर्केकाहरुको स्वास्थ्य जाँच गर्न, जनप्रतिनिधिहरुसँग समन्वय गर्न भनिएको छ । हरेक वडामा प्रहरीको साथ माइकिङ गरिएको हो ।

स्वास्थ्यकर्मीलाई आवासीय सुविधा दिइएको मनहरीस्थित युनिभर्सल लर्निङ एकेडेमी परिसर ।

हरेक वडामा अनुगमन
हरेक वडामा गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला बिष्ट आफै पुगेर सचेतनामुलक काममा लाग्नु भएको छ । उहाँहरुले विदेश गएका, ज्वरो आएका बिरामीहरुलाई स्वास्थ्य केन्द्रमा जानका लागि सहजीकरण गरिरहनु भएको छ भने कतिपय स्वास्थ्य सामग्रीहरुको ओसारपसारमा गाउँपालिकाले आफ्नो सबारी साधनलाई प्रयोग गरिरहेको छ । कतिपय वडाहरुमा मानिसहरु जम्मा भएर तास खेल्नेगरेको, भीडभाड गरिरहेको भन्ने गुनासो आइरहेकाले त्यसको निराकरणका लागि गाउँपालिकाले वडाध्यक्ष, वडासदस्यहरुमार्फत अनुगमन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here