प्राथमिक स्वास्थ्य केन्द्र मनहरी र सजन गिरीको स्टाटस ।

मनहरी–दुबईबाट फर्केका मनहरी गाउँपालिका ८ निबासी युवा सजन गिरीले आफूमा कुनै किसिमको संक्रमण नभएकाले आतंकित नहुन आग्रह गर्नु भएको छ ।

बिहिबार फेसबुक स्टाटसमार्फत उहाँले विभिन्न अनलाइनहरुमा आएका समाचारहरुमा सत्यता नरहेको दाबी गर्नुभएको छ । उहाँ अहिले भरतपुर कोरोना अस्थायी अस्पतालमा चिकित्सको निगरानीमा हुनुहुन्छ ।

आफू दुबईबाट मार्च २० तारिख (चैत ७ गते) नेपाल आएको र कोरोनाको संक्रमण भएको भनिएकी १९ बर्षीया युवती मार्च १७ तारिखमा कतार हुँदै नेपाल आएको प्रसंग उठाउँदै गिरीले सँगै आफू युवतीसँगै नआएको दाबी गर्नु भएको छ । ‘म नर्मल नै छु, मलाई कुनै पनि रोग नभएको जानकारी गराउन चाहन्छु’, गिरीले भन्नुभएको छ ।

विदेशबाट फर्केपछि पनि गिरी सरकारले तोके अनुसार १४ दिनसम्म घरमै बस्नुपर्ने नियम उल्लंघन गरी बजार, आफ्ना आफन्त र साथीभाईसँग निस्फिक्री हिँडडुल गर्न थालेपछि मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा जाँच गर्न दबाब सिर्जना गरिएको थियो । जाँचका क्रममा गिरीको तापक्रम १००.०२ डिग्री फरेनहाइट देखिएपछि भरतपुर कोरोना अस्थायी अस्पताल पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । उहाँको रगत जाँचका प्रक्रिया र चिकित्सकीय निगरानी निरन्तर भइरहेको बताइएको छ ।

गिरीजस्तै विदेशबाट फर्केर आएकाहरु अनिबार्य स्वास्थ्य केन्द्रमा ज्वरो क्लिनिकमा जाँच गराउन अथवामा वडाध्यक्षहरुको सम्पर्कमा जान गाउँपालिकाले अनुरोध गरेको छ । विदेशबाट फर्केर साथीभाई भेट्ने, घुम्न निस्कने, हुल बनाएर खाजा खाने, चकलेट र उपहार बाँड्दै हिँड्ने काम नगर्न र त्यसो गरेको देखिएमा तत्कालै जनप्रतिनिधि वा प्रहरीलाई खबर गर्न पनि गाउँपालिकाले आग्रह गरेको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here