मनहरी–बुधवार दिउँसो मनहरीका एकजना युवकलाई कोरोनाको सम्भावना देखिएको भन्दै मनहरी क्षेत्रमा आतंक फैलियो ।

ती २५ बर्षीय युवा उनै हुन् जो चैत ७ गते दुबईबाट मनहरी आइपुग्नु भएको थियो । विदेशबाट आएका ती युवालाई सुरुमा फ्रान्सबाट आएको जहाजमा यात्रा गरेकी १९ बर्षीय युवतीसँगै आएका युवक हुन् भनेर ब्याख्या गरियो । १९ बर्षीय युवतीमा कोरोना भेटिएपछि अहिले पनि काठमाडौँमा उपचार भइरहेको छ ।

ती युवा ती युवतीसँगै एकै जहाजमा आएका होइनन् । दुबईबाट आएका युवक हुन् । आएपछि केही समय अस्पतालको निगरानीमा रहनुपर्नेमा मनहरी आएर आफन्त र साथीभाईको घरघरै पुगेका रहेछन् । तर, स्वास्थ्य जाँच चाहिँ गराएका रहेनछन् ।

बुधवार बिहान ती युवालाई उनका काकाले प्राथमिक स्वास्थ्य केन्द्रको ज्वरो क्लिनिकमा जान सुझाव दिएपछि उहाँ स्वास्थ्य केन्द्र पुग्नुभयो । कुनै समस्या नभएको बताइरहेका युवक जब स्वास्थ्य केन्द्रको व्यवस्थित ज्वरो क्लिनिकमा पुग्नु भयो, त्यसपछि थाहा भयो उहाँको तापक्रम १०० डिग्री फरेनहाइटभन्दा देखियो ।

उहाँको बिगत अध्ययन गर्दा दुबईबाट आएको भन्ने बुझिएपछि स्वास्थ्य केन्द्रबाट तत्कालै भरतपुर कोरोना अस्थायी अस्पताल पठाइएको डाक्टर शरद दाहालले बताउनुभयो । उहाँको शरीरमा ज्वरो भएको र विदेशबाट समेत आएका हुनाले कोरोनाको संक्रमण हुन सक्ने अनुमान मात्र गरिएको हो । ‘रिपोर्ट नआइकन आँत्तिइहाल्नुपर्ने अबस्था छैन’, मनहरी गाउँपालिका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले भन्नुभयो ।

तर, बजार हल्ला कोरोना पुष्टि भएको, कोरोना संक्रमित १९ बर्षे युवती चढेकै जहाजमा चढेर नेपाल आएको जस्ता सुनिए । त्यसमा कुनै सत्यता छैन । हल्लाको पछि नलाग्न र लक डाउनलाई पूर्ण कार्यान्वयन गर्न मनहरी गाउँपालिकाले सबैमा आग्रह गरेको छ ।

कोरोनाको संक्रमण रोक्नका मनहरी गाउँपालिका (स्थानीय सरकार)ले मनहरीमा स्वास्थ्यकर्मीहरुलाई खानेबस्नेसहित सबै व्यवस्था गरेर राखेको छ । स्वास्थ्य केन्द्रमा दुईजना डाक्टर छन्, अन्य सिनियर अहेवहरु, स्टाफ नर्सहरु छन् । पर्याप्त जनशक्ति छ ।

छुट्टै ज्वरो क्लिनिक छ । स्वास्थ्य केन्द्रको आकस्मिक कक्ष, ज्वरो क्लिनिकमा जोकोही जान पाउँदैनन् । गेटमा पस्नासाथ हात धुनु अनिबार्य गरिएको छ भने तत्कालै तापक्रम पनि जाँचिने व्यवस्था छ । स्वास्थ्य केन्द्र हाता वरिपरि अनावश्यक रुपमा सर्बसाधारण जान र रमिता हेर्न पनि निषेध गरिएको छ । यी सबै तयारी हेर्दा मनहरी गाउँपालिकाले कोरोना संक्रमण रोक्नका लागि गरेको पूर्व तयारीलाई सबल ठानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here